• १३ मंसिर २०८१, बिहिबार

पार्क सम्मेलन हुँदै

blog

पार्क सम्मेलनका लागि तयारी छलफलका सहभागीहरू । तस्बिर: भुवन कार्की

रुपन्देही, वैशाख २९ गते । नेपालका पार्कहरू (उद्यानहरू) लाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर बहस चलाउन देशभरका सरोकारवालाहरू रुपन्देहीको बुटवलमा भेला हुने भएका छन् । राष्ट्रिय पार्क सम्मेलन गरेर स्पष्ट कानुन समेत बनाउन पहल गरिने भएको छ ।

पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा आगामी जेठको ६ र ७ गते बटलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना गरिएको छ ।

यस सम्मेलनमा देशभरका करिब १ सय पार्कबाट १५० देखि १६० जनासम्म सहभागी हुनेछन् । बुटवलको मणि मुकुन्द सेन उद्यान र तिलोत्तमाको शङ्कर नगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को नेतृत्वमा सम्मेलनको तयारी गरिएको सम्मेलन आयोजक समितिका सदस्य सचिव अनन्त सिलवालले जानकारी दिनुभयो ।

पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र सौन्दर्यताका लागि पार्कहरूको ठुलो महत्त्व भए पनि राज्यले कानुनी रूपमा कुनै सम्बोधन नगरेको सम्मेलनले कानुन निर्माणमा तीनै तहका सरकारलाई दबाब पुग्ने अपेक्षा गरिएको शङ्कर नगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताउनुभयो ।

नेपालको आर्थिक समृद्धिका लागि पर्या–पर्यटन एक महत्त्वपूर्ण पक्ष भएकाले वन क्षेत्रभित्र सञ्चालित पार्कहरूलाई सहज रूपले काम गर्न ठोस नीतिगत व्यवस्थाको पहलका लागि सम्मेलनले पार्कहरूको राष्ट्रिय स्तरको सञ्जाल निर्माण गर्ने मणिमुकुन्दसेन उद्यानका अध्यक्ष खेम लुइँटेलले उल्लेख गर्नुभयो । पार्क सम्मेलनका लागि आयोजकले बिहीबार बुटवलमा सरोकारवालासँग छलफल समेत गरेको लुइँटेलले जानकारी दिनुभयो ।

Author

भुवन कार्की