• २५ पुस २०८१, बिहिबार

मुकेश कायस्थको उग्रतिर्थेश्वर घाटमा अन्त्येष्टि

blog

मुकेश कायस्थको अन्त्येष्टिमा सहभागी । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, वैशाख २८ गते। बुधबार साँझ मृत्यु हुनुभएका बनेपाकाका मुकेश कायस्थको अन्त्येष्टि गरिएको छ। कायस्थको बिहीबार दिउँसो बनेपास्थित उग्रतिर्थेश्वर घाटमा दाह संस्कार गरिएको हो। उहाँ जनआन्दोलन २०६२/०६३ का घाइते हुनुभएको थियो। मृतक कायस्थको नेवारी परम्परा अनुसार दाहसंस्कार गरिएको हो। दाहसंस्कार अनुसार बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म कायस्थको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि बनेपा नगरपालिकाको प्राङ्गणमा राखिएको थियो। 

कायस्थको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्नका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य सूर्यमान दोङ, गृह सचिव दिनेश भट्टराई श्रद्धाञ्जली दिनुभएको छ। 

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री मोदीले मुकेशलाई शहीद घोषणाका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। स्वास्थ्यमन्त्री बस्नेतले मुकेश जस्ता शहीद तथा घाइतेका कारण नै देशका राजनीतिक परिवर्तन भएको बताउनुभयो। 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मुकेशलाई शहीद घोषणा गर्न पार्टीको तर्फबाट पहल गरिने बताउनुभयो। एमाले नेता तथा पूर्वमन्त्री बाँस्कोटाले जनआन्दोलनका क्रममा घाइते मुकेशलाई जनआन्दोलन शहीद घोषणा गर्न सरकारसँग माग गर्नुभएको हो। 



नेपाल प्रहरीको एक टुकडीले शोक धुन बजाई कायस्थको शवलाई बजार परिक्रमा गराइएको थियो। मुकेश कायस्थ प्रतिष्ठानका प्रमुख संयोजक तथा साहित्यकार मोहन दुवालले विभिन्न आन्दोलनका घाइते तथा अपाङ् भएका व्यक्तिको सम्मानका लागि प्रदेश सरकारले एउटा कोष स्थापना गरेर सम्मानको कार्यक्रम आयोजना गर्नुपर्ने माग गर्नुभयो। 

यसैगरी उहाँले बनेपा नगरपालिकाको कार्यालय परिसरभित्र मुकेश कायस्थको शालिक निर्माण तथा नगरभित्र निर्माणाधीन स्वास्थ्य संस्थामा मुकेश कायस्थको नाम कायम गर्न माग गर्नुभएको छ। 

दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा २०६२ चैत २७ गते बनेपाको तीनदोबाटोमा प्रहरीको गोली लागेर घाइते हुनुभएको थियो। उहाँले १७ वर्ष एक महिना अर्धचेत अवस्थामा जीवन बिताउनु भएको थियो। वि.सं. २०४८ साल भदौ ९ गते जन्मिनु भएका मुकेशलाई स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। 

मुकेशको मृत्युमा बनेपा नगरपालिकाले बिहीबार सबै सेवा बन्द गरेको छ। यसैगरी नगरपालिकाले कायस्थको श्रद्धाञ्जली सभा र अन्त्येष्टि कर्म सम्पन्न गर्न लाग्ने सबै खर्च नगरपालिकाले व्यहोर्ने जनाएको छ। कायस्थको मृत्युमा दुःख व्यक्त गर्दै जिल्लास्थित सबै राजनीतिक दलले शोक वक्तव्य सार्वजनिक गरेका छन्।