अविनाश चौधरी
धनगढी, वैशाख २८ गते । सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण दर घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको हो । यो प्रदेशमा अब १८ जना मात्रै सक्रिय सङ्क्रमित रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । सो कार्यालयका अनुसार कैलालीमा ११ र कञ्चनपुरमा सात जना सक्रिय सङ्क्रमित रहेका छन् । पहाडका सात जिल्ला सक्रिय सङ्क्रमितमुक्त छ ।
बिहीबार दुई जनामा मात्रै सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१२ जनाको नमूना परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी, कोरोना सङ्क्रमित दुई जना सेती प्रादेशिक अस्पताल भर्ना भएका छन् । जसमध्ये एक जनाको सघन उपचार कक्ष (आइसीयु) मा राखेर उपचार भइरहेको छ ।
यो प्रदेशमा हालसम्म छ लाख ६३ हजार ८४७ जनाको नमूना परीक्षण गरिएको छ । जसमध्ये ६२ हजार ४५२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमण भएपछि ज्यान गुमाउनेको सङ्ख्या ६३६ पुगेको छ । पछिल्लो सङ्क्रमणको क्रममा कञ्चनपुरका एक जना सङ्क्रमितको ज्यान गएको थियो ।