• ३ असार २०८१, सोमबार

इनरुवाको शैक्षिक सुधार गर्न माग

blog

इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै शैक्षिक सुधार अभियानका संयोजक दिलिपचन्द साहु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, वैशाख २८ गते । इनरुवा नगरपालिकामा गुणस्तरीय शिक्षाका लागि सरोकारवालाले माग गरेका छन् । नगरको शिक्षा सुधारका लागि २९ बुँदे माग तथा सुझावसहित इनरुवा नगर शैक्षिक सुधार अभियान अन्तर्गत गापनपत्र बुझाएका हुन् ।

बिहीबार अभियानका संयोजक दिलिपचन्द साहुको नेतृत्वमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्नुपर्ने र निजी विद्यालयमा अनिवार्य विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने, नगरपालिकाले शुल्क वृद्धिलगायतको निर्णय लिँदा अभिभावक समितिसँग सहमति लिनुपर्ने, कक्षा–३ सम्मका विद्यार्थीलाई नगरपालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी किताब उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

त्यसैगरी सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठनको व्यवस्था गर्नुपर्ने, कम्प्युटर कक्ष, इन्टरनेट, विद्यार्थी र शिक्षकको इ–हाजिरीको व्यवस्था गर्नुपर्ने, प्रत्येक विद्यालयमा प्रत्येक शिक्षकले शिक्षा रूपान्तरणका लागि प्रतिबद्धता गर्नुपर्ने, निजी विद्यालयको शिक्षकको तलब समान हुनुपर्ने, नगरपालिकाले नगद पुरस्कार र प्रमाणपत्रसहित उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यालयको व्यवस्था गर्नुपर्ने, नगरपालिकामा आधारभूत तहमा बहुभाषिक विद्यालयको स्थापना गर्नुपर्ने माग गरेका छन् ।

अभियानले सामुदायिक विद्यालयले पनि कक्षा –१ देखि कक्षा–१० सम्म उत्तरपुस्तिका अभिभावकसमक्ष उपलब्ध गराउनु पर्ने, कक्षाकोठाको व्यवस्थापन र सुधार गर्नुपर्ने, +२ मा चाहिने विषयको पठनपाठनको व्यवस्था गर्नुपर्ने, नगरपालिकाले शिक्षाको सम्पूर्ण आर्थिक, भौतिक अवस्थाको चौमासिक रूपमा प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नगरको सबै मा.वि.मा प्राविधिक शिक्षालय स्थापना गर्नुपर्ने माग गरेका छन् ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले आ–आफ्नो छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, प्रयोगात्मक परीक्षा महिनामा एक पटक गराउनुपर्ने उहाँहरूको सुझाव छ ।