• ६ जेठ २०८१, आइतबार

डाँडापारि पुग्यो राष्ट्रिय प्रसारण लाइन

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, वैशाख २८ गते । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल तथा आसपासका सहरी क्षेत्रमा बिजुली बलेको छ दशक पुग्न लाग्दा नजिकैको महाभारत गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन भने भर्खर मात्रै पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्गलबार महाभारत गाउँपालिकामा ग्रामीण विद्युतीकरण उद्घाटन गर्नुभएको थियो । 

विसं २०१७ मा निर्माण सुरु भएको पनौती विद्युत् आयोजना २०२१ सालमा निर्माण सम्पन्न भएपछि २०२२ सालदेखि धुलिखेल, पनौती, खोपासी, बनेपालगायतका सहरी क्षेत्रका बासिन्दाले बिजुली प्रयोग गर्दै आएका थिए । 

महाभारत गाउँपालिकाका तीन हजार दुई सय घरपरिवारमध्ये हाल वडा नं. ३, ४, ५ र ६ का एक हजार दुई सय घरपरिवारले प्राधिकरणको प्रसारण लाइनको विद्युत् उपयोग गरेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । उहाँले आफ्नो पहिलो कार्यकालदेखि नै महाभारत गाउँपालिकालाई राष्ट्रिय प्रसारण लाइनसँग जोड्ने अभियानमा लागेको बताउँदै लामो प्रयासपछि गाउँपालिकाका बासिन्दाले राष्ट्रिय प्रसारण लाइनको बिजुली उपयोग गर्न पाएको बताउनुभयो । स्थानीय पुष्प मोक्तानले प्राधिकरणको बिजुली आएपछि गाउँमा बिजुली नहुँदा बेहोर्दै आएको मोबाइलमा नेटवर्क नआउने समस्या समाधान हुनेमा आशावादी रहेको बताउनुभयो । 

विद्युत् प्राधिकरण बनेपा वितरण शाखा प्रमुख इन्जिनियर ध्रुव कार्कीले महाभारत गाउँपालिकाबाट तीन हजार थान मिटरको माग आएको भन्दै हालसम्म एक हजार आठ सय थान बिजुली मिटर गाउँ पठाइएकोमा एक हजार दुई सय घरमा मिटर जडान भई बिजुलीसमेत बलेको र छ सयवटा मिटर जडानको काम तीव्र रूपमा भइरहेको बताउनुभयो ।“मिटर लैजान बाँकी वडा नं. १, २ र ८ ले आवश्यक कागजात पूरा गरेर मिटर लगेकामा आगामी दसैँ, तिहारसम्म महाभारत गाउँपालिकाका सबै घरधुरीमा बिजुली बाल्न सकिनेछ,” कार्कीले थप्नुभयो । उहाँले खानीखोला गाउँपालिकाले प्राधिकरणको प्रसारण लाइन विस्तारका लागि करिब एक हजार घरधुरीले मिटर माग गरेको र करिब दुई हजार पाँच सयवटा मिटर आवश्यक पर्ने बताउनुभयो ।

विद्युत् प्राधिकरणको प्रसारण लाइनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्राधिकरणको विद्युत् सेवा नपाएका काभ्रेपलाञ्चोकको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकलाई छिटोभन्दा छिटो सेवा प्रदान गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान अन्तर्गत महाभारत र खानीखोला गाउँपालिकाका नागरिकलाई विद्युत् सेवा प्रदान गर्न काम सुरु भएको भन्दै महाभारत गाउँपालिकाको गोकुलेमा सब स्टेसन निर्माणका लागि बोलपत्र आह्वान भएको बताउनुभयो ।