• ५ जेठ २०८१, शनिबार

अध्यक्ष तिमिल्सिनासँग राजदूत सुकको बिदाइ भेट

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाइ भेट गर्नुहुँदै नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क चोंग सुक । तस्बिर : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको सचिवालय

काठमाडौं, वैशाख २७ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले बिदाइ भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विषयमा विचार–विमर्श भयो ।

सो अवसरमा दक्षिण कोरियाले नेपालमा आफ्ना विद्युतीय उपकरण उत्पादन गर्ने उद्योग सञ्चालन गरिएकामा धन्यवाद ज्ञापन गर्दै सवारी साधन उत्पादन गर्न र अन्य उद्योग स्थापना गरेर नेपालमा रोजगारीको अवसर सृजना गर्न आग्रह अध्यक्ष तिमिल्सिनाले गर्नुभयो । धेरै नेपाली युवायुवतीलाई इपिएसमार्फत रोजगारीको अवसर दिएकामा धन्यवाद ज्ञापन गर्दै उहाँले नेपाल एयरलाइन्सको कोरिया उडानका लागि पहल गरिदिन पनि जोड दिनुभयो ।


अध्यक्ष तिमिल्सिनाले उहाँलाई गणतन्त्र कोरियाको राजदूतका रूपमा नेपाल–कोरिया सम्बन्धलाई थप मजबुत, प्रगाढ र व्यापक बनाउन भूमिका निर्वाह गरेकामा धन्यवाद पनि दिनुभयो ।

त्यस अवसरमा  राजदूत सुकले नेपालमा लगानी मैत्री वातावरण बन्न सकेको अवस्थामा कोरियाका धेरै उद्योग नेपालमा आउन सक्ने बताउनुभयो । उहाँले दुवै देशबीच भविष्यमा उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गर्दै दुवै देशबीचमा सम्बन्ध प्रगाढ बनाउन अध्यक्ष तिमिल्सिनाले गर्नुभएको पहलका लागि आभार व्यक्त गर्नुभयो ।  उहाँ  नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएको छ । रासस