काठमाडौं, वैशाख २७ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ।
बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले अहिले भ्रष्टाचारका फाइल खोलिन थालेको भन्दै नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्नेकुरा देखिएको बताउनुभयो।
उहाँले देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्नेकुरा भ्रष्टाचारका काण्डले दिइरहेको बताउनुभयो। उहाँले भ्रष्टलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गर्नुभयो। उहाँले नेपालको प्रतिष्ठामा आँच आउने खतरा बढिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘अहिलेको राजनीति एउटा अप्ठ्यारो स्थितिमा रहेको देखिन्छ। राजनीतिप्रति जनतामा निराशा बढेको छ। नेताप्रति पनि निराशा बढेको छ। निराशा बढेपछि विकल्प के ? पहिला त अझै क्रान्तिकारी पार्टी भनेर विकल्पको रूपमा मान्छे दर्शन हेर्ने गर्दथे। सिद्धान्त हेर्ने गर्दथे। त्याग, तपस्या र बलिदान हेर्ने गर्दथे। अहिले त्यो हेरिरहेका छैनन्, अहिले कताकता सोसल मिडियाबाट प्रभावित भएर नयाँ पुस्ताले उनीहरूलाई सजिलै मानिसकेका छन्। उनीहरूले सहजै आफ्नोतर्फ तान्न थालेको स्थिति छ। नेपालको भविष्य के हुने हो ? भन्ने नेपाली जनताको भविष्य के हुने हो ? नेपालको राजनीतिको भविष्य भनेर चिन्ता लागेर आउँछ। यी सबै प्रश्नको जवाफ एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरूका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ कि नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन्। हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरूले नै अगुवाइ गर्ने गरेका छन्। उपप्रधान एवम् गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु, तपाईँले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस्। जुनसुकै व्यक्तिहरू जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस्। नेपालको प्रतिष्ठामा आँच आउने खतरा भएको छ।’’
अध्यक्ष नेपालले पछिल्लो समय सामाजिक सञ्जालको लहडमा नेताहरू मान्ने तर कसैको त्याग र बलिदान हेर्न भुल्ने गरेको बताउनुभयो।