सर्लाही समाचारदाता
सर्लाही, वैशाख २७ गते । खानेपानीको अभावले सर्लाहीको चुरे भेगका बस्ती काकाकुल बनेका छन् । गाउँका धारा, कुवा र जरुवा सुकेसँगै चुरे क्षेत्रका बस्तीमा खानेपानीको अभाव चुलिएको हो । हिजोआज खानेपानीका लागि घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ । धारा तथा कुवामा थोरै मात्रामा आउने पानी अपुग भएको स्थानीयवासीले गुनासो गरेका छन् । पछिल्ला वर्षयता खानेपानीका स्रोत चाँडै सुक्न थालेको स्थानीयवासीको अनुभव छ ।
यहाँको चुरे भेगमा पर्ने परवानीपुर, घारिबथान, पत्थरकोट, अत्रौली, ढुङ्ग्रेखोला, कर्मैयालगायत दर्जनौँ बस्ती खानेपानीको अभावले काकाकुल बनेका हुन् । ईश्वरपुर नगरपालिका–१२, घारिबथानकी दिलमाया डिम्डोङले मानिस र बस्तुभाउ दुवैलाई पानीको अभाव भएको गुनासो गर्नुभयो । “हिजोआज पानीको असाध्य दुःख छ, मान्छेलाई खाने दुई गाग्रो पानी जुटाउन नै गाह्रो छ, बस्तुभाउलाई खुवाउन र सरसफाइका लागि त झन् कहाँबाट ल्याउनु ? उहाँले गुनासो गर्दै भन्नुभयो, “गाउँको धारामा केहीबेर आउने पानीले सबैलाई पुग्दैन, थोरै मात्रामा आउने पानी थाप्न सधँै झगडा नै पर्छ ।” चुरे भेगका स्थानीय बासिन्दा खानेपानी लिन गाग्रो बोकेर एक गाउँबाट अर्को गाउँसम्म पुग्ने गरेका छन् ।
लालबन्दी नगरपालिका–१५, तल्लो देउरालीका अगुवा बाबुराम ठोकरले आफ्नो गाउँका स्थानीय बासिन्दा पानी लिनका लागि दैनिक जङ्गल छिचोलेर वडा नं. १५ को धुसेनीसम्म पुग्ने गरेको जानकारी दिनुभयो । धुसेनीकै स्थानीयवासीलाई इनारको पानी अपुग भइरहेका बेला आफूहरू समेत त्यही इनारमा पानी लिन पुग्दा ठुलो भिड लाग्ने गरेको उहाँले बताउनुभयो । चुरे भेगका प्रत्येक बस्तीमा अहिले खानेपानीका लागि यस्तै समस्या छ ।
बागमती नगरपालिका–१ का वडाध्यक्ष गम्भिरसिंह पाख्रिनले खानेपानीको स्रोत सुकेपछि ट्याङ्करबाट पानी ओसारेर स्थानीयवासीलाई पानी खुवाइरहेको बताउनुभयो । “ट्याङ्कर पुगेका ठाउँमा दिन बिराएर पानी पठाइरहेका छौँ, ट्याङ्कर नै जान नसक्ने विकट बस्ती घट्टे टोल, अलैँची डाँडालगायतका ठाउँमा थप समस्या छ,” उहाँले भन्नुभयो, “गएको वर्ष असोजदेखि मूल फुट्ने गरी पानी पर्न नसकेकाले चुरेका फेदी र पाखाका बस्तीमा पानीको अभाव धेरै नै छ ।” पानीको अभावले चुरे क्षेत्रका विद्यालय, स्वास्थ्य चौकी र अन्य सरकारी कार्यालयसमेत प्रभावित भएका छन् ।