• ७ पुस २०८१, आइतबार

पाथीभरा दर्शनका लागि हिँडेका पराजुली मृत फेला

blog

पाथीभरा क्षेत्र । फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा बेपत्ता भएका एक वृद्ध पाँच दिनपछि मृत फेला परेका छन्। पाथीभराको दर्शन गर्न जाने क्रममा बेपत्ता झापा, अर्जुनधारा नगरपालिका –५ का ६० वर्षीय लोकप्रसाद पराजुली मङ्गलबार बिहान मृत अवस्थामा भेटिनुभएको हो।

प्रहरीका अनुसार पराजुली गएको शुक्रबारदेखि बेपत्ता भएका थिए। पाथीभराको दर्शन गर्न जाने क्रममा बाटोबाटै बेपत्ता पराजुलीको शव पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब तीन किलोमिटर टाढाको जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

पाथीभराको दर्शनका लागि श्रीमती, छोरा–बुहारी र अन्य आफन्तसहित आउनुभएका पराजुली मन्दिर पुग्ने समयमा एक्कासि बाटोदेखि नै बेपत्ता हुनुभएको थियो। परिवार स्रोतका अनुसार पराजुलीको मानसिक सन्तुलन केही असामान्य रहेको थियो। 

बाटो हिँड्दा–हिँड्दै बेपत्ता बनेपछि प्रहरी, आफन्त लगायतबाट पराजुलीको निरन्तर खोजी भइरहेको थियो। यता घटनास्थलको कानुनी प्रक्रिया पूरा गरेर शव सदरमुकाम फुङ्लिङतर्फ लैजाँदै गरेको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो।