• ७ पुस २०८१, आइतबार

समाजवादीले गर्‍यो कार्यविभाजन

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, पुस ७ गते ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गरेको छ । पार्टी स्थायी कमिटीको (मंसिर २६ देखि पुस २ मा सम्पन्न) बैठकले केन्द्रीय कमिटीको तर्फबाट नेताहरूको कार्यविभाजन गरेको हो । पार्टीले कार्यविभाजनअनुसार काम गर्न नेताहरूलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेर नेताहरूलाई पठाएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाइएको उल्लेख छ । ‘प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी र उद्योग व्यवसायी फाँटको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको छ’ अध्यक्ष नेपालले कार्यविभाजनसँगै निर्देशन दिनुभएको छ । 

त्यस्तै प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तर्गत जिम्मेवारीमा रहेका पोलिटब्युरो सदस्यहरूको परामर्शबाट केही फाँटहरूको इञ्चार्जको जिम्मेवारी विभाजन गर्न पनि नेपालले उल्लेख गर्नुभएको छ । कतिपय फाँटहरूमा केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी तोकेको सो पार्टीले जिम्मेवारी तोकिएका जनसङ्गठनका अध्यक्षहरूलाई सम्बन्धित जनसङ्गठनको जिम्मेवारी यथाशीघ्र छोड्नु भनेको छ ।

उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव श्रीनाथ बरालले पाएका छन् । उपमहासचिव मेटमणि चौधरी लुम्बिनीका इन्चार्ज तोकिनु भएको छ । त्यस्तै कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी सचिव चन्द्रबहादुर शाही, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष भानुभक्त जोशी इन्चार्ज तोकिनु भएको छ । उपत्यका प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क प्रदेश इन्चार्जमा लक्ष्मण केसीलाई जिम्मेवारी दिइएको छ ।