गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ७ गते । भारतमा बिजुली बेचेर चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा नेपालले १३ अर्ब चार करोड रुपियाँ आर्जन गरेको छ ।
गएको साउनदेखि मङ्सिरसम्ममा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत् भारत निर्यात गरी सो रकम आर्जन गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
समीक्षा अवधिमा निर्यात भएको विद्युत्को औसत दर प्रतियुनिट ७.३९ पैसा रहेको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा विद्युत् बिक्री गर्ने गरेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपियाँ (भारु) मा हुने गरेको छ ।
साउनमा सबैभन्दा बढी चार अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ भने मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपियाँको मात्र निर्यात भएको छ । भदौमा तीन अर्ब ६८ करोड, असोजमा तीन अर्ब सात करोड र कात्तिकमा एक अर्ब ८७ करोड रुपियाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा बाढीपहिरोका कारण ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताउनुभयो । माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनामा विद्युत् निर्यात घटेको र सुक्खायाम सुरु भएसँगै जलविद्युत् आयोजनाको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात सुरु गर्नु परेको उहाँले बताउनुभयो ।
हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन कमी भई देशभित्रको विद्युत् माग धान्न हिउँदका केही महिनामा विद्युत् आयात गर्नुपर्ने छ । यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बङ्गलादेश निर्यात पनि सुरु भइसकेको छ ।
चालु आवमा करिब ३० अर्ब रुपियाँ विद्युत् निर्यातको लक्ष्य राखिएकामा बाढीपहिरोको क्षतिका कारण निर्यातको सो लक्ष्य प्रभावित हुने देखिएको छ । बाढीपहिरोले माथिल्लो तामाकोशीसहित काबेली कोरिडोर क्षति पु¥याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाको करिब दुई सय मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो । यसका कारण कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको थियो ।
माथिल्लो तामाकोशी यही पुस १० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार धमाधम भइरहेको प्राधिकरणले जनाएको छ । काबेली कोरिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ ।
प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपियाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब छ करोड रुपियाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपियाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।