१२३ वर्षअघि आजैको दिन नेपाली समाजमा चेतनाको एउटा दियो बलेको थियो । तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरको पहलमा १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन सुरु भएको थियो। अनुदार शासन र पुरातनवादले जकडिएको त्यस्तो असहज परिवेशमा जनतालाई सूचना दिनुपर्छ भन्ने चेतना शासकको दिमागमा जागृत हुनु र राज्यस्तरबाटै पत्रिका प्रकाशन प्रारम्भ हुनुलाई एउटा साहसिक कदम मान्नुपर्छ। नेपाली समाजलाई लोकतन्त्रतर्फ अघि बढ्ने प्रारम्भिक प्रेरणा यसले पनि प्रदान गरेको थियो।
वि.सं. १९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशनको प्रारम्भ नेपालमा पत्रकारिताको शिलान्यास मात्र थिएन, सञ्चारको विकासमा पनि एउटा फड्को नै थियो। नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्रको १२३ वर्ष लामो अविचलित यात्रा आफैँमा अभूतपूर्व र गौरवमय छ। इतिहासका सबैखाले उकाली–ओराली भोगेको यो संस्था सिङ्गो युगको एउटा जीवन्त प्रतिनिधि पनि हो। नेपालमा भएका हरेक राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणका सबै आरोहअवरोहको सक्रिय साक्षीका रूपमा रहेको छ गोरखापत्र।
जनशक्ति, सामग्री विविधता, पहुँच, प्राविधिक स्रोतसाधनका हिसाबले गोरखापत्र नेपालकै सबैभन्दा ठूलो प्रकाशन गृह हो। गोरखापत्र दैनिकसँगै हामीसँग अङ्ग्रेजी भाषाको पहिलो ब्रोडसिट दैनिक दी राइजिङ नेपाल, नेपाली साहित्यमा प्रतिष्ठित म्यागजिन ‘मधुपर्क’, युवा ढुकढुकी ‘युवामञ्च’ र बालबालिकाको प्रिय पत्रिका ‘मुना’ पनि निरन्तर प्रकाशनमा छन्।
संस्थाको भविष्यसँग जोडिएको महत्वपूर्ण अङ्ग गोरखापत्र डिजिटलको विकास र विस्तार पनि हाम्रो प्राथमिकतामा छ। गोरखापत्र डिजिटलअन्तर्गत गोरखापत्र अनलाइन डटकम र राइजिङ नेपाल डेली डटकम सञ्चालित छन्। पछिल्ला दिनमा हाम्रो डिजिटल प्लेटफर्म प्रभावकारी बनेको छ भने सामाजिक सञ्जालमा पनि हाम्रो सक्रिय उपस्थिति छ। समावेशी प्रकाशनमार्फत ३८ भन्दा बढी भाषामा सामग्री प्रकाशित गरेर राष्ट्रिय एकता र साम्प्रदायिक सद्भावलाई प्रवद्र्धन गर्ने काम पनि हामीले गरिरहेका छौँ।
विरासत र इतिहासले हामी जति समृद्ध छौँ, भविष्य त्यति नै सुन्दर र सबल बनाउनुपर्ने आवश्यकता छ। संस्थासँग उपलब्ध पूर्वाधार, जनशक्ति, प्राविधिक एवं भौतिक स्रोतसाधनको प्रभावकारी उपयोग र परिचालन गर्दै परम्परागत ढर्रामा चल्दै आएको यो संस्थालाई ‘डिजिटल सिफ्ट’ गर्नु अबको प्राथमिकता हो।
१२२ वर्ष प्रवेश गर्दा हामीले ‘स्मार्ट यात्रा’ प्रारम्भ भएको उद्घोष गरेका थियौँ। समयको माग र प्रविधिको गतिअनुसार संस्थालाई रूपान्तरण गर्न नयाँ कार्ययोजनासहित अघि बढेका छौँ। न्युज रुम, विज्ञापन, आर्थिक कारोबार, वितरणलगायतका कामलाई प्रविधिसँग जोडेर थप प्रभावकारी र विश्वसनीय बनाउन सफ्टवेयर स्थापना गरी सम्पूर्ण कार्यप्रणालीलाई स्मार्ट बनाउने प्रक्रिया थालिएको छ। हाम्रो दैनिक कार्यप्रणालीलाई डिजिटल सिस्टमबाट सञ्चालन गर्न एकीकृत कार्यव्यवस्थापन प्रणालीमा समायोजित भइसकेका छौँ। डिजिटल एकीकृत कार्यव्यवस्थापन प्रणाली अभ्यास गर्ने पहिलो संस्थान भएका छौँ।
संस्थानको आन्तरिक प्रशासन तथा पद्धतिमा गरिएको व्यापक सुधारसँगै सम्पादकीय उत्पादन (गोरखापत्र दैनिक, दी राइजिङ नेपाल तथा अन्य प्रकाशन)का डिजाइन र लेआउटमा गरिएको परिवर्तन तथा कन्टेन्टको प्रस्तुति एवं गुणस्तरमा भएको अभिवृद्धिको स्पष्ट सकारात्मक प्रभाव संस्थानको आम्दानीमा देखिएको छ। आर्थिक मन्दीसँगै विज्ञापनको बजार खुम्चिँदै गएको अवस्थामा संस्थानको कमाइमा देखिएको उल्लेखनीय सुधारले हामी थप उत्साहित भएका छौँ र आत्मनिर्भर हुने बाटोमा यसले हामीलाई ऊर्जा मिलेको छ।
गोरखापत्र र अन्य प्रकाशनका हरेक अङ्क तथा त्यसमा संलग्न सामग्री र तस्बिरलाई व्यवस्थित र सुरक्षित रूपमा सङ्ग्रह गरेर मुलुककै सम्पदाका रूपमा जगेर्ना एवं प्रवद्र्धन गर्ने ‘डिजिटल अर्काइभिङ’को प्रभावकारी कार्यान्वयनका लागि संस्थानभित्रै अत्याधुनिक ल्याब स्थापना गरी ‘डिजिटाइजेसन’को काम अघि बढाइएको छ। डिजिटल अर्काइभसँगै पुराना सामग्रीको प्राप्ति तथा प्रयोगलाई डिजिटल माध्यमबाट सहज पहुँच उपलब्ध गराएर आम्दानी बढाउने दीर्घकालीन अवधारणासमेत तयार गरिएको छ।
अघिल्ला आर्थिक वर्षहरूको बाँकी लेखापरीक्षण सम्पन्न गरेर सरकारलाई तिर्नुपर्ने सावाँ ब्याज बुझाएर, कर दायित्वसमेत फस्र्योट गरेर संस्थानको वित्तीय प्रणालीलाई चुस्त बनाउने कोसिस गरेका छौँ। लेखा प्रणालीलाई अझ वैज्ञानिक र जवाफदेही बनाउनका लागि नेपाल लेखामान प्रणाली ‘एनएफआरएस’मा प्रवेश गर्न सफल भएका छौँ।
राज्यको नियमन र स्वामित्वमा सञ्चालित यो संस्थानसँग विशिष्ट खालको चरित्र छ। राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै, नागरिकप्रतिको जवाफदेहितालाई ख्याल गरी व्यावसायिक चरित्र कायम गर्ने प्रयास गरेका छौँ। गोरखापत्रले खालि सरकारको भाका र भाषण मात्रै छाप्छ भन्ने जुन भाष्य निर्माण भएको थियो अनि सरकारी भूत र भ्रमले हामी अलि खुम्चिएको वा अनावश्यक स्वनियन्त्रित भएको अवस्था थियो, त्यो आज लगभग अन्त्य भएको छ। सामाजिक बेथिति र जनसरोकारका प्रत्यक्ष मुद्दामा गोरखापत्रले खोजमूलक स्टोरी तथा सामग्री पस्किरहेको छ। हामीले आमपाठकबाट निकै उत्साहजनक प्रतिक्रिया पाएका छौँ। विचार तथा दृष्टिकोणमा पनि सन्तुलन कायम गर्दै विविधता थपिएको छ। समाचार छनोटको प्राथमिकता र सम्पादकीय नीतिलाई थप स्पष्ट पार्दै समाचार निर्देशिका तयार गरिएको छ। भाषा र व्याकरणको प्रयोगमा एकरूपता ल्याउन प्रकाशन शैली पुस्तिका प्रयोगमा ल्याइएको छ।
गोरखापत्र प्रकाशनको १२२ वर्ष लामो अविरल र अविचलित यात्रामा हामीलाई निरन्तर माया र हौसला प्रदान गर्ने सबै सम्मानित पाठक, सहयोगी तथा शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। विभिन्न कालखण्डमा यो संस्थामा आफ्नो सीप र सिर्जना लगानी गर्ने र अहिले गरिरहेका गोरखापत्र परिवारका सबै अग्रज तथा सदस्यको योगदानप्रति सम्मान व्यक्त गर्दछौँ।
वर्तमान डिजिटल युग सुहाउँदो परिवर्तन र सुधार गरेर प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो र दरो रूपमा उत्रनुपर्ने चुनौतीलाई आत्मसात् गर्दै नयाँ कार्ययोजनासहित हामी अघि बढेका छौँ। सम्पूर्ण पाठकले सजिलै पढ्न पाउने र सिङ्गो राष्ट्रको ढुकढुकी बोल्ने प्रिय, विश्वसनीय एवं जिम्मेवार सञ्चार संस्थाका रूपमा आगामी दिनमा अझ परिमार्जित भएर प्रस्तुत हुने अठोट गर्दछौँ।
कार्यकारी अध्यक्ष
विष्णु सुवेदी