• १३ मंसिर २०८१, बिहिबार

मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापनाको पहल

blog

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीच भएको भेटपछि । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख २१ गते । रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापनाको पहल थालिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीचमा भएको भेटवार्तामा यो बिषयले प्रवेश पाएको हो ।

बुटवल उपमहानगरपालिकाको कार्यालयमा बिहीबार भएको भेटवार्तामा बुटवल क्षेत्रको सुरक्षा व्यवस्था, रात्रीकालीन बजार सञ्चालन, अपराध न्यूनीकरणलगायतका विषयमा छलफल भएको छ । नगर प्रमुख पाण्डेयले मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना, रात्रीकालीन बजार सञ्चालनमा समन्वय र प्रहरी पोष्ट स्थापना, अपराध न्यूनीकरणमा तदारुकता देखाउन प्रहरी प्रमुख कुँवरलाई आग्रह गर्नुभयो ।

बुटवल क्षेत्रमा लागूपदार्थ दुव्र्यसन, अपराधका घटना न्यूनीकरणमा प्रहरी संगठनले थप सक्रियता देखाउन जरुरी रहेको बताउनुभयो । नगर प्रमुख पाण्डेयले बुटवलको अमरपथ, कालिकापथमा रात्रीकालीन बजार सञ्चालनका क्रममा सुरक्षा व्यवस्थापनजस्ता विषयमा प्रहरी संगठनले स्थानीय सरकारसँग समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

भेटका क्रममा प्रहरी महानीरिक्षक वसन्तबहादुर कुँवरले औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्ने विश्वास दिलाउनुभयो । उहाँले रात्रीकालीन बजार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने र बुटवललाई अपराधमुक्त र शान्तिपूर्ण शहर बनाउन प्रहरी संगठनले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको उपमहानगरपालिकाका प्रेस बिज्ञ सीपी खनालले जानकारी दिनुभयो ।