• १० मंसिर २०८१, सोमबार

सन्तुलित र मर्यादित कूटनीति

blog

कुनै पनि देशले एक्लै आफ्नो समस्या समाधान गर्न सक्दैन । देशको हितका लागि मित्र देश र विश्व मञ्चसँग साझेदारी र सहकार्यको आवश्यकता पर्छ । देशको शासकीय आधार र आवश्यकतामा अन्तर्राष्ट्रिय सम्बन्धको निर्भरता वा परनिर्भरता हुने गर्छ । विश्व मञ्चमा शक्ति, स्रोत, आर्थिक सक्षमता र शासकीय चातुर्यताको प्रभुत्व रहेको छ । विश्वको प्रभावबाट सकारात्मक लाभ प्राप्त गर्न अन्तर्राष्ट्रिय सम्बन्ध प्राथमिकतामा रहेको हुन्छ । मित्र देश र विश्व समुदायसँंग सम्बन्ध बढाइ आफ्नो देशको हित प्रवद्र्धन गर्नु आजको आवश्यकता पनि हो । विश्वव्यापीकरणको सिद्धान्तले पनि विश्व समुदायसँग समाहित भई लागत लाभका आधारमा आर्थिक लाभ प्राप्त गर्न दबाब दिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धको विश्लेषण गर्दा पाँच स (सम्बन्ध, सम्पर्क, स्वार्थ, सन्तुलन र सञ्चार) को आधारबाट हेर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धका लागि प्रस्तुत आधारको विश्लेषण गरी प्राप्त निचोडको कार्यान्वयनबाट मात्र सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ । भूगोल, राजनीतिक अवस्था, आर्थिक प्रभाव र सामाजिक एवं सांस्कृतिक सम्बन्धको सौहार्दतासहित असल सम्बन्ध स्थापित गर्न अन्तर्राष्ट्रिय सम्बन्धको अवस्था, अवसर र चुनौतीका बारेमा मन्थन गर्न खोजिएको छ । भगवान् रामको विवाह राजा जनककी छोरी सीतासँग हुनु भृकुटीको विवाह तिब्बतमा हुनु अन्तर्राष्ट्रिय सम्बन्धका प्रयाय भन्न सकिन्छ । राणा शासनदेखि हालसम्मको अन्तर्राष्ट्रिय सम्बन्धको अवस्था केही अपवादबाहेक सङ्ख्यात्मक रूपमा सकारात्मक नै रहेको पाइन्छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध पञ्चशील सिद्धान्त र असंग्लन वा तटस्थ भूमिकामा छ ।

सम्बन्ध 

देशले आफ्ना मित्र शक्ति र विश्वमञ्चसँग असल सम्बन्ध कायम गर्नुपर्छ । सम्बन्ध कायम गर्ने आधार द्विपक्षीय र बहुपक्षीय सम्बन्ध कायम गरी विश्व शासनमा सहकार्यता बढाउनु हो । नेपालले १७६ देशसँग कूटनीतिक सम्बन्ध कायम गरेको छ । सयुक्त राष्ट्र सङ्घ र विशिष्टीकृत संस्थाहरूमा आबद्धता रहेको छ भने अन्तर्राष्ट्रिय संस्थाहरूको सदस्य भई सहभागिता गर्दै आएको छ । पञ्चशीलका सिद्धान्तको आधारमा असलग्न समूहमा आबद्ध छ । अति कम विकसित र भूपरिवेष्टित मुलुकहरूको सङ्गठनमा सक्रिय सदस्य रहेको छ । सार्क क्षेत्रीय सङ्गठनको सदस्य राष्ट्र पनि हो । यी सम्बन्धले अन्तर्राष्ट्रिय भूमिकामा नेपालको सङ्ख्यात्मक सम्बन्ध राम्रै मान्नु पर्छ ।

सम्पर्क 

अन्तर्राष्ट्रिय सम्बन्धपछि नेपालको सम्पर्क कस्तो छ भन्ने विषयले महìव पाउँछ । सम्बन्धको चरणपछि राष्ट्रको हितका लागि राज्यले के कस्ता भूमिका निर्वाह गर्न सम्पर्क बढाएको छ भन्ने विषयको बहस हुनुपर्छ । नेपालले मित्रराष्ट्रसँगको द्वैत्व सम्बन्ध र अन्तर्राष्ट्रिय संस्थामा आबद्धतापछि देशका हितमा कति र कस्तो भूमिका निर्वाह ग-यो भन्ने विषयमा हेर्नुपर्ने हुन्छ । 

द्विपक्षीय सम्बन्ध बढाउन गरेका सम्झौता, संयुक्त राष्ट्र सङ्घमा आबद्धतापछि भएका क्रियाकलाप र क्षेत्रीय मञ्चमा भएको उपस्थितिलगायतका विषयबाट देशले प्राप्त गरेका लाभमा विश्लेषण गर्नुपर्ने हुन्छ । वैदेशिक रोजगारीका लागि गरेको सम्झौता, लगानीका लागि गरेका बिप्पा सम्झौता, पारवाहन र व्यापारका लागि भएका सम्झौता, सांस्कृतिक आदानप्रदानका समझदारी, जलस्रोतको उपयोग र विद्युत् व्यापारका लागि भएका सम्झौता अन्तर्राष्ट्रिय संस्थासँग भएका विविध विषयका सन्धि र समझदारीले नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई प्रस्ट पारेको छ । सम्पर्कका लागि कूटनीतिक नियोगहरूको संरचनागत व्यवस्था गरिएको छ । व्यापार घाटा र वैदेशिक रोजगारीको विषयसहित छिमेकी देशसँगको सम्बन्धका विषयमा धेरै काम गर्नुपर्ने देखिन्छ । नेपालले अल्पविकसित देशको समूहमा नेतृत्वको अवसर प्राप्त गरेको र भूपरिवेष्टित राष्ट्रको हक अधिकारका लागि दबाब र समझदारीले सम्बन्ध र सम्पर्कलाई प्रष्ट्याउँछ । 

स्वार्थ

अन्तराष्ट्रिय सम्बन्ध र सम्पर्क हुनुभन्दा अघि पनि स्वार्थका विषय आएका हुन्छन् । सम्बन्ध र सम्पर्कले अन्तर्राष्ट्रिय सम्बन्धका लागि पूर्वाधार निर्माण गर्छ । राष्ट्रिय स्वार्थको प्रस्तुति कूटनीतिक क्रियाकलाप र कला पनि हो । राज्यको राजनीतिक, आर्थिक र समाजिक अवस्थाले राष्ट्रिय स्वार्थको मूल्य तय गर्छ । अन्तर्राष्ट्रिय मञ्चमा कुशल प्रभाव पार्न कूटनीतिक चातुर्यताको आवश्यकता देखिन्छ । स्वार्थका लागि हुने बहस, वार्ता र संवादले जित, हार र तटस्थ परिणाम प्राप्त हुन्छ । नेपालको सन्र्दभलाई हेर्दा पहिलो स्वार्थ छिमेकीको आर्थिक प्रभावको फाइदा लिनुपर्ने हुन्छ । दोस्रोमा छिमेकको संवेदनशीलताको विषयमा गम्भीर हुने, तेस्रो त्रिदेशीय सम्बन्ध बढाउन जोड दिने र अन्त्यमा मित्र देश र विश्वमञ्चबाट आर्थिक र सामाजिक विकासमा सहकार्यता र साझेदारी बढाउने रणनीतिक सोच बनाउनु पर्छ । मित्र मुलुक र विश्वमञ्चबाट आर्थिक र सामाजिक विकासका लागि सहयोग, साझेदारी र सम्बन्ध बढाइ राष्ट्र हित प्रवद्र्धन गर्ने विषयलाई प्राथमिकतामा राख्नु पर्छ । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने, विदेशी लगानी र व्यापार एवं पारवहन सम्झौता प्रभावकारी बनाई आर्थिक स्वार्थको परिपूरण गर्न ध्यान दिन आवश्यक छ । 

पर्यटनको प्रवद्र्धन र जलस्रोतको उपयोग गर्ने विषयमा देशको हितका लागि जोड दिन लाग्नु पर्ने देखिन्छ । अन्तर्राष्ट्रिय संस्थामा आबद्धतापछि राष्ट्रिय हितलाई जोड दिने र विश्वले सङ्कल्प गरेको दिगो विकास गर्ने लक्ष्यसंँगै जलवायु परिवर्तनको असरका विषयमा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न समूहगत दबाबको खाँचो छ । नेपालले बेला बेलामा पारवहनको समस्या भोगेकोले आगामी दिनमा त्यस्ता समस्या नआउनेतर्फ ध्यान दिनुपर्छ । क्षेत्रीय तनावका विषयमा तटस्थ रही मानवताको पक्षमा उभिनु राम्रो हुन्छ । संयुक्त राष्ट्रसङ्घले विश्वमा शान्ति सुव्यवस्था कायम गर्ने र आधारभूत विकासका लागि सहयोग गर्ने भएकोले आधारभूत आवश्यकता पूर्ति गर्न सहयोग र साझेदारीका लागि पहल गर्नुपर्छ । देशगत रूपमा हेर्ने हो भने लगानी, व्यापार, रोजगारी, पर्यटन, जलउपयोग जस्ता विषयमा द्विपक्षीय सम्झौता गरी देशको हित प्रवद्र्धन गर्ने कामहरू प्रभावकारी बनाउनु पर्छ । 

सन्तुलन

अन्तर्राष्ट्रिय सम्बन्धको परिणाम हो सन्तुलन । हाम्रो जस्तो देशका लागि उदयमान देशको बीचमा रहेकोले सन्तुलित कूटनीतिको अर्कै महìव छ । सन्तुलित कूटनीतिको सिद्धान्तले दुवै पक्षको हित हुने मान्यता राख्छ । देशको स्वार्थका लागि द्विपक्षीय र बहुपक्षीय सम्बन्ध कायम गरी सन्तुलित र मर्यादित कूटनीति हाम्रो अन्तिम लक्ष्य हो । सन्तुलित कूटनीतिका लागि बहसका विषय र आवश्यकताको पक्षपोषणसहित वार्ता र संवादको महìवपूर्ण भूमिका रहन्छ । छिमेक र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जल, व्यापार, पर्यटन, वैदेशिक रोजगार र लगानीमा सन्तुलित सम्बन्ध हुन नसकेको आरोप छ । छिमेकी देशहरूको सम्बन्धमा भूराजनीतिक सन्तुलन कायम गर्न नसकेको अवस्था देखिन्छ । व्यापार घाटा बढ्दो रहेको, वैदेशिक रोजगारीमा अनियमितता र विकृतिहरूले शासन व्यवस्थामा चुनौती थपिएको छ । सीमा विवादको समाधान र खुला सिमानाको व्यवस्थापनमा जोड दिनु आवश्यक छ । बहुपक्षीयभन्दा द्विपक्षीय सम्बन्धमा सन्तुलित सम्बन्धको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

सञ्चार 

अन्तर्राष्ट्रिय सम्बन्धका आयामको नागरिक र सरोकार पक्षलाई सुसूचित गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धका लागि भए गरेका समझदारी र त्यसको प्रभावका बारेमा नागरिकलाई सुसूचित गरी त्यसबाट लाभ लिन सूचना प्रवाह गर्नु राज्यको दायित्व पनि हो । हाम्रो सम्बन्ध विश्व मञ्चमा कस्तो छ मित्र देश र विश्व मञ्चसँगको सम्पर्क र हाम्रा स्वार्थहरूको परिणाम के कस्तो रह्यो एवं विश्व मञ्चमा असल सम्बन्धका लागि भएका समझदारीको अवस्थाका बारेमा नागरिकलाई प्रस्ट पार्नु पर्छ । देशको आवश्यकता पूर्ति र अन्तर्राष्ट्रिय दायित्व बहन गर्न बहुपक्षीय र द्विपक्षीय सम्बन्धमा जोड दिनुपर्ने हुन्छ । मित्र देश र विश्व मञ्चले नेपाललाई सहयोग गर्दै आएका छन् । अन्तराष्ट्रिय सम्बन्धमा छिमेक पहिलो नीतिमा हामीले पनि जोड दिनुपर्छ । उदयमान देशका बीचमा हामी रहेकोले सन्तुलित सम्बन्धमा जोड दिई त्रिदेशीय सम्बन्धमा जोड्न रचनात्मक भूमिका खेल्नुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रभावकारी बनाउन तत्कालै गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने कामको प्राथमिकता तोकी आन्तरिक क्षमता बढानुपर्छ । व्यापार घाटा कम गर्न, पर्यटन प्रवद्र्धन र वैदेशिक लगानी बढाउन छिमेकलाई नै प्राथमिकता दिई रणनीति तय हुनु राम्रो हुन्छ । 

विश्वव्यापीकरणबाट वैदेशिक रोजगारीको अवसर बढेको अरू क्षेत्रमा हामीले फाइदा प्राप्त गर्न सकेका छैनौँ । वैदेशिक रोजगारीको अवस्था दिनानु दिन समस्याग्रस्त देखिन्छ । सैनिक कूटनीतिमा हाम्रो अवस्था राम्रो छ तर अरू क्षेत्रका सम्बन्धमा हामी कमजोर देखिएका छौँ । दिगो विकास लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय साझेदारी बढाउन नसकेको अवस्था छ । जलस्रोत उपयोगमा पनि हाम्रो प्रस्तुति सन्तोषजनक छैन । यी यावत् समस्याका लागि नागरिक शासनको प्रभावकारिता हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्धका लागि पाँच ‘स’को प्रभावकारिता बढाइ क्षेत्रगत लाभका लिन रणनीति तय गरी लाग्नुको विकल्प छैन । 

लेखक सूचना तथा प्रसारण विभागका निर्देशक हुनुहुन्छ । 

   

Author

भरत गौतम