• २ असार २०८१, आइतबार

बुद्धको त्रिपिटक ग्रन्थ

blog

हिन्दुको वेद, इसाईको बाइबल, इस्लामको कुरान प्रमुख ग्रन्थ भएझैँ बौद्धको मूल ग्रन्थलाई त्रिपिटक भनिन्छ । भगवान् बुद्धको वचनलाई उनको परिनिर्वाणपछि तत्कालीन भिक्षुहरूद्वारा एकै ठाउँमा संयोजन गरी त्रिपिटक ग्रन्थ निर्माण गरिएको थियो । 

बुद्धले आजीवन दिएका मौखिक उपदेशहरूको सङ्ग्रहित वचनलाई लिपिबद्ध गरेको नै त्रिपिटक हो । बुद्धको महापरिनिर्वाणको पाँच सय वर्षपछि मात्र बुद्धवाणीका रूपमा त्रिपिटकलाई लिपिबद्ध गरिएको थियो । यही त्रिपिटक ग्रन्थ नै आज विश्वले भगवान् बुद्धको आधिकारिक एवं प्रामाणिक वचन सङ्ग्रह मानेको छ । 

त्रिपिटकमा ८४ हजार धर्मस्कन्ध छन् भनी अट्ठकथामा वर्णन छ । तिनै सङ्ग्रहको एकमुस्ट समूहलाई नै बुद्धधर्मको अमूल्य र पवित्र धर्मग्रन्थ त्रिपिटक भनिएको छ । कुशल कार्य र मन परिशुद्धि कार्य गर्नका लागि त्रिपिटकको ज्ञान र अध्ययन गर्नु अति आवश्यक छ । विशेषतः त्रिपिटक पाली भाषामा लेखिएको छ । त्रिपिटकमा ‘त्रि’ को अर्थ तीनवटा र ‘पिटक’को अर्थ हो टोकरी (डालो) धर्म साहित्यको । तीनवटा पिटकमा (१) सूत्रपिटक (२) विनयपिटक (३) अभिधम्मपिटक पर्छन् । 

(१) सूत्रपिटक : सूत्रपिटक भन्नाले बोलचालको भाषामा भगवान् बुद्धबाट कतिपय स्थानमा व्यावहारिक रूपमा दिइएका धम्म (धर्म) वा उपदेश सूत्रबद्ध तरिकाले विषयगत रूपमा सङ्ग्रह गरिएको बुझिन्छ । यसमा २१ हजार धर्मस्कन्ध छन् । यस सूत्रपिटकलाई पनि पाँच भागमा विभाजित गरिएको छ । 

ती हुन् दीघ निकाय, मज्झिम निकाय, संयुक्त निकाय, अङ्गुत्तर निकाय र खुद्दक निकाय । यिनमा पनि १५ वटा अलग निकायहरू खुद्दकपाठ, धम्मपद, उदान, इत्तिवुत्तक, सुत्तनिपात, विमानवत्थु, पेतवत्थु, थेरगाथा, थेरीगाथा, जातक, निद्देस, पटिसम्भिदामग्ग, अपदान, बुद्धवंश र चरियापिटक रहेका छन् । 

(२) विनयपिटक : विनयपिटकमा बुद्ध शासनको व्यवस्था, भिक्षु, भिक्षुणीले पालन गर्नुपर्ने नियम, आचारसंहिता, उपसम्पदा नियम, वर्षवाष, भोजन, वस्त्र, औषधि र सङ्घ सञ्चालन गर्ने नियमसम्बन्धी विस्तृत वचनको सङ्ग्रह छ । यसमा २१ हजार धर्मस्कन्ध छन् । यसमा महावग्ग, चुलवग्ग, पचित्रिय, पाराजिका र परिवार भाग रहेका छन् ।  

(३) अभिधम्मपिटक : यसलाई पनि तीन भागमा विभाजन गरिएको छ । यस परमार्थअन्तर्गत अति सूक्षमातिसूक्ष्मका रूपमा मनोवैज्ञानिक ढङ्गमा मूलतः चित्त, चैतसिक, रूप र निर्वाणसम्बन्धी विश्लेषण भएका बुद्धवचन छन् । यसमा ४२ हजार धर्मस्कन्ध समावेश गरिएको छ । 

यसलाई पनि सात स्कन्धका रूपमा विभाजन गरिएको छ । जो यस प्रकार छन् : धम्म सगणी, विभग, कथावस्तु, पुग्गलपञ्ञति, धातुकथा, यमक र पट्ठान । अभिधर्म पिटकलाई बौद्ध दर्शन पनि भनिन्छ । 

वर्मा (म्यानमार)मा सम्पूर्ण त्रिपिटकलाई सात सय २९ थान  सङ्गमरमरमा कुँदिएको कुथो दाच विहारमा अझै पनि देख्न सकिन्छ । यस्तै बौद्ध देश थाइल्यान्डमा पनि त्रिपिटकलाई तालपत्रमा कुँदिएको छ । यसलाई समय समयमा संशोधन गरी तालपत्रमा कुँदिने गरेको देखिन्छ । त्यहाँ बुद्धमण्डप विहारमा सम्पूर्ण त्रिपिटक सेतो सङ्गमरमरमा कुँदेर सन् १९९९ जनवरीमा प्रतिष्ठापन गरिएको थियो ।

श्रीलङ्का, वर्मा, थाइल्यान्ड, कम्बोडिया आदि देशमा आ–आफ्नो लिपिमा त्रिपिटक ग्रन्थ लेखिएको छ । यस्तै सय वर्ष अगाडि रोमन भाषामा त्रिपिटक लिपिबद्ध गरिनुका साथै अङ्ग्रेजी भाषामा समेत यसको अनुवाद भइसकेको छ । 

नेपालमा पनि पाली त्रिपिटक पहिले थियो भन्ने कुरा ओस्कर भि. हेनुवरको 'The Oldest Pali Manuscript'पुस्तकमा उल्लेख छ । नेपालभाषामा यसको अनुवाद दुण्ढबहादुर वज्राचार्यले 

गरेका छन् ।  

(लेखक सहप्राध्यापक हुन् ।)