• १३ असोज २०८१, आइतबार

विषयगत समिति गठन

blog

काठमाडौँ, वैशाख १६ गते । प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भएको झन्डै चार महिनापछि विषयगत समिति गठन भएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकले १० विषयगत समिति गठन गरेको हो। समिति गठन नहुँदा विधायिकी कार्य हुन सकेका थिएनन्। समिति गठनसँगै सभामा विचाराधीन रहेका नौ विधेयक सम्बन्धित समितिमा पठाइएका छन्। 

चैत अन्तिममा नै गठनको तयारी भए पनि राजनीतिक दलहरूबीच विवाद भएसँगै समिति गठनमा विलम्ब भएको थियो। दलीय विवादकै कारण प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सदस्यको नामावली दिन ढिलाइ गरेका थिए। 

गठित समितिअनुसार शीर्ष नेताहरूले परराष्ट्र समिति छनोट गर्नुभएको छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर जबराले अन्तर्राष्ट्रिय सम्बन्ध समिति रोज्नुभएको छ। यस्तै कांग्रेसका प्रकाशमान सिंह, नारायण खड्का, शेखर कोइराला तथा माओवादीका वर्षमान पुनले पनि सोही समिति रोज्नुभएको छ। महन्थ ठाकुरले पनि अन्तर्राष्ट्रिय समिति नै रोज्नुभएको छ। 

शीर्षमध्ये कांग्रेस सभापति शेरबहादुर देउवाले कानुन, न्याय तथा मानव अधिकार समिति रोज्नुभएको छ। यस्तै पूर्वसभामुख सुवास नेम्वाङ, एमालेका सचेतक महेश बर्तौलाले कानुन समिति रोज्नुभएको छ। ध्रुवबहादुर प्रधान, रमेश लेखक, शशाङ्क कोइराला, सोबिता गौतमले पनि कानुन समिति रोज्नुभएको छ। 

यस्तै अर्थ समितिमा जुलीकुमारी महतो, पदम गिरी, विनोदकुमार चौधरी, वीरेन्द्र महतो, स्वर्णिम वाग्ले, ज्ञानबहादुर शाही, ज्ञानेन्द्रबहादुर कार्कीलगायत सदस्य हुनुहुन्छ। उद्योग वाणिज्य समितिमा डोलप्रसाद अर्याल, मोहन बस्नेत, रघुवीर महासेठ, एलपी सावा लिम्बूलगायत हुनुहुन्छ। आरजु राणाले कृषि समिति रोज्नुभएको छ। 

महिला तथा सामाजिक समितिमा आशा विक, ईश्वरबहादुर रिजाल, टोपबहादुर रायमाझी, धनराज गुरुङ, हितबहादुर तामाङलगायत सदस्य हुनुहुन्छ। राज्य व्यवस्थामा ईश्वरी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, गगन थापा, दिलेन्द्र बडु, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, रवि लामिछाने, राजेन्द्र पाण्डे, विश्वप्रकाश शर्मालगायत सदस्य हुनुहुन्छ। यस्तै पूर्वाधार तथा विकास समितिमा गोकर्ण विष्ट, चन्द्रकान्त राउत, प्रदीप पौडेल, वसन्त नेम्वाङ, प्रतिमा गौतमलगायत सदस्य हुनुहुन्छ। 

यस्तै तोसिमा कार्की, चन्द्रकान्त भण्डारी, देवेन्द्र पौडेल, बद्रीप्रसाद पाण्डे, योगेश गौचन, विद्या भट्टराई, सुमना श्रेष्ठलगायतले शिक्षा तथा स्वास्थ्य समिति रोज्नुभएको छ। सार्वजनिक लेखा समितिमा अमरेशकुमार सिंह, अच्युत मैनाली, योगेश भट्टराई, गोकुलप्रसाद बास्कोटा, ऋषिकेश पोखरेल, जनार्दन शर्मा, प्रदीप यादव, प्रेमबहादुर आले, मनीष झा, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, सञ्जय गौतम, हरि ढकाललगायत सदस्य हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्रीहरू समिति सदस्य नहुने अभ्यास छ। मन्त्रीहरू आफ्नो अधिकार क्षेत्रभित्रको समितिका पदेन सदस्य हुने नियमावलीमा व्यवस्था छ।