गोकर्ण पौडेल
तुलसीपुर, वैशाख १५ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विपद् उद्धारका कार्यमा तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
गृह मन्त्रालयले तुलसीपुर आयोजना गरेको विपद् पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले विपद् उद्धारमा कार्यमा एक आपसको समन्वय सहकार्यबाटै सम्पादन गर्दा प्रभावकारी र उपलब्धिमूलक रहने बताउनुभयो ।
मन्त्री शर्माले तीनै तहका सरकारका साधनस्रोत सीमितताका कारण विपद्का कार्यहरुमा तत्कालै उद्धार, खोज, अनुसन्धान, उपचार र राहतका कार्यहरु प्रभावकारी हुन नसकेको बताउनुभयो । अभ्यासका कार्यहरु निश्चित पालिकामा मात्र नभई ७५३ वटै पालिकामा गर्दा थप प्रभावकारी हुने र विपद् जोखिमलाई न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले विपद् व्यवस्थापनका कार्यहरु सम्पन्न गर्नका लागि विपद्का समय बाहेक नीति तथा कार्यक्रम बजेटबाटै सम्बोधन गरिने धारणा औंल्याउनुभयो ।
शर्माले भन्नुभयो, ‘‘नेपाल भूकम्प, बाढीपहिरो, डुबान, आगलागीजस्ता विपदबाट जोखिम बढी छ, त्यसका लागि आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्छौं ।’’
उहाँले दाङ जिल्लाका राप्ती, बबई नदी र खोलाका कारण बाढी, डुबानबाट बढी जोखिममा भएका कारण त्यसबाट बच्नका लागि तटबन्धनको कार्य पहिलो प्राथमिकता दिइने बताउनुभयो ।
मन्त्री शर्माले फरक प्रसङ्गमा घोराही तुलसीपुर चारलेन सडककै कारण जोखिम बढेकाले तत्काल दुई लेन सडक मर्मत सम्भारका लागि सङ्घबाट बजेटको व्यवस्थापन गरिने जानकारी दिनुभयो । उहाँले निर्माण गरिने संरचनाका कारण विपदबाट जोखिम बढेकाले यसबाट बच्ने संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
गृह मन्त्रालयको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा गृह मन्त्रालय, लुम्बिनी प्रदेश, जिल्लास्थित कार्यालयका प्रतिनिधि, दाङका तुलसीपुर घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र दैलेखको दुल्लु नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीको सहभागिता छ ।
कार्यक्रममा गृह मन्त्रालय विपद् व्यवस्थापन प्रमुख प्रदीप कोइरालाले राहत उद्धारका कार्यहरु एकद्वार प्रणालीबाटै सम्पन्न गर्न सके थप प्रभावकारी रहने बताउनुभयो ।