• १३ वैशाख २०८१, बिहिबार

सौन्दर्यका लागि अव्यवस्थित तार हटाउँदै महानगर

blog

काठमाडौं, वैशाख १५ गते। काठमाडौं महानगरपालिकाले वैशाख १२ गते एक सूचना प्रकाशित गरेर महानगर अन्तर्गतको अव्यवस्थित तार १५ दिनभित्र हटाउने जनाएको छ। महानगरको सौन्दर्यताका साथै सफा, स्वच्छ र हराभरा वातावरणका लागि अव्यवस्थित आकाशे तार हटाउने महानगरले जनाएको हो। 

महानगरका प्रवक्ता नवीन मानन्धरले तोकिएको समयावधिमा अव्यवस्थित तार नहटाइए सबैभन्दा पहिले सम्बन्धित पक्षसँग छलफल गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “त्यो समयभित्र उहाँहरूसँग सम्पर्क गर्ने र उहाँहरूले गर्न सक्ने वा नसक्ने भन्ने विषयमा पनि हामी छलफल गर्ने हो।” तार हटाउन अटेरी गरेको अवस्थामा महानगर आफैँ सक्रिय हुने भनाइ उहाँले राख्नुभयो। उहाँले भन्नुभयो, “अटेरी नै गरेको अवस्था रहे १६ औँ दिनमा हामी जान्छौँ। हामी आफैँ वडा कार्यालयबाट त्यो तार हटाउन जान्छौँ।” 

महानगरले विगतमा तार हटाउने गरेको पहल गर्दै आएको छ। यस सम्बन्धमा उहाँले भन्नुभयो, “पहिला पनि हटाएको हो। अहिले पनि त्यही प्रक्रिया छ, हामी आफैँले हटाउन थाल्यौँ भने उहाँहरूको क्षति धेरै हुन्छ। सहकार्य भयो भने क्षति कम हुन्छ।”

उहाँले महानगरले तार हटाउँदा सम्बन्धित पक्षको कुन तार प्रयोगमा आइरहेको छ वा कुन तार प्रयोगविहीन छ भन्नेबारे जानकारी नहुने बताउनुभयो। “हामीले हटायौँ भने हामीलाई थाहा हुँदैन कि, कुन उपयोगी हो वा होइन। महानगरको सबैजसो ठाउँमा तार अव्यवस्थित रहेकाले यस कार्यमा  जनशक्ति अपुग हुनसक्छ। यस्तो अवस्था रह्यो भने, हामी वडा कार्यालयमार्फत त्यस कार्यमा सहयोग गर्छौ”, उहाँले भन्नुभयो। अहिले व्यक्तिगत तथा संस्थागत रूपमा जो कोही पनि इन्टरनेट, केबल जस्ता प्रविधि अनिवार्य आवश्यकताको रूपमा रहेकाले सबैसँग सहकार्य गरेर नै यो काम अगाडि बढाइने उहाँको भनाइ छ। 



उहाँले ताररहित महानगर बनाउने उद्देश्य स्थानीयको समेत रहेको बताउनुभयो। “यसका लागि वडा कार्यालयबाट समन्वय गर्ने। स्थानीयको उद्देश्य भनेको तारहित सहर बन्नुपर्छ भन्ने हो। त्यसलाई सहयोग र समन्वय गरेर हामी अघि बढ्छौं”, उहाँले भन्नुभयो। 

ठमेल पर्यटन विकास परिषद्ले पनि भर्खरै करिब एक, डेढ महिना अघि ठमेल परिषरको आकाशे तारको व्यवस्थापन गर्यौं। परिषद्का अध्यक्ष भविश्वर शर्माले पर्यटकीय क्षेत्र ठमेल परिसरका ५८ टिप्पर तार काटेर व्यवस्थापन गरेको बताउनुभयो। अहिले ठमेलभित्र पूर्ण रुपमा तार व्यवस्थापन भइसकेको दाबी उहाँले गर्नुभयो। 

शर्माले भन्नुभयो, “यो तार व्यवस्थापन गर्ने काम सबैभन्दा पहिले परिषद्ले सुरु गरेको हो। ठमेलभित्र ५८ टिप्पर तार काटेर व्यवस्थापन गरिसक्यौं। अहिले ठमेलभित्र पूर्ण रुपमा तार व्यवस्थापन भइसकेको छ। यो परिषद् आफैंले गरेको हो, यसको शिलशिलाबद्व रुपमा महानगरले नै फलो गरेको छ। फोहोर भएको ठाउँमा तार हटाउने कुरा व्यवहारिक रुपमा राम्रो भयो।”

यसले गर्दा सौन्दर्यकरण राम्रो भएको भन्नुहुँदै उहाँले यस कार्यको सबैले प्रशंसा गरेको बताउनुभयो। परिषद्ले प्राविधिक एवम् नीतिगत रुपमा पूर्व तयारी साथ विद्युत प्राधिकरण, टेलिकमलगायत संस्थासँग छलफल एवम् सहकार्य गरेर सो कार्य गरेको हो। 

ठूल–ठूला होटल, टावर अवस्थित रहेको पर्यटकीय हब ठमेलमा २४ घण्टा इन्टरनेट अनिवार्य आवश्यक रहने स्थानमा तार व्यवस्थापन गर्ने क्रममा सेवा अवरुद्व भए तुरुन्त वा एकदेखि डेढ घण्टाभित्र सेवा प्रदान गर्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। “सकेसम्म त्यस्ता ठाउँमा अवरुद्व नै भएन, अवरुद्व भएका ठाउँमा हामी आफैंले एकदेखि डेढ घण्टाभित्र व्यवस्थापन गरेका थियौं”, उहाँले भन्नुभयो। 

उहाँले पर्यटकीय हिसाब एवम् स्थानीयका लागि तार व्यवस्थापनको कार्य आवश्यक रहेको बताउनुभयो। महानगरले अव्यवस्थित तारबाट हुनसक्ने जोखिम घटाउने विषयप्रति विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ। तर, निर्णय कार्यान्वयनका लागि पटक–पटक पत्र पठाएर ताकेता गर्दा पनि काम नभएको महानगरपालिकाको भनाइ छ।


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।