• २५ पुस २०८१, बिहिबार

काठमाडौं महानगरद्वारा बजेट विनियोजन विवरण सार्वजनिक

blog

काठमाडौं, वैशाख १४ गते । काठमाडौं महानगरपालिकाले २०७९ माघ २ गतेदेखि चैत ३० गतेसम्मका विवरण सार्वजनिक गरेको छ । बजेट विनियोजन गरिएका शीर्षक, त्यसमा भएको खर्च र मौज्दात रकमसहितको विवरण सार्वजनिक गरेको हो ।

विवरणमा महानगरपालिकाको स्वरुप र प्रकृति, काम कर्तव्य र अधिकार, कर्मचारीको विवरण, सेवा, सेवा प्रवाह गर्ने शाखा र अधिकारी, सेवा लिन लाग्ने समय र शुल्क लगायत विषय समावेश छन् । यस्तै, निर्णय प्रक्रिया र अधिकारी, निर्णय उपर उजुरी सुन्ने अधिकारी, ऐन, नियम, विनियम, कार्यविधि वा निर्देशिकाको सूची, कार्यालय प्रमुख र सूचना अधिकारी सम्बन्धी विवरण राखिएका छन् । यस अवधिमा भएका काम आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण प्रकाशित विवरणमा उल्लेख गरिएको छ ।

महानगरपालिकाले हरेक आर्थिक वर्षका लागि नगर सभाबाट स्वीकृत बजेट नीति तथा कार्यक्रम बमोजिम समय समयमा विभिन्न प्रकारका महानगरपालिकाको क्षेत्राधिकारसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सार्वजनिक महत्त्व र जनचासोसँग सम्बन्धित महानगरपालिकाका सूचना र विवरणहरु एक वर्षमा चार पटक सार्वजनिक गर्ने गरिएको छ । हरेक चौथो महिनाको १५ गतेभित्र अघिल्ला तीन महिनाको विवरण राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन हुने गरेको छ । चालु आर्थिक वर्षमा कात्तिक र माघ महिनामा दुई पटक विवरण सार्वजनिक भइसकेको छ । यो चालु आर्थिक वर्षको तेस्रो पटकको विवरण हो ।