• २५ पुस २०८१, बिहिबार

सरकारको ध्यान अर्थतन्त्र सुधारमा : मन्त्री शर्मा

blog

पत्रकार सम्मेलनमा सहभागी हुनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, वैशाख १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको आर्थिक अवस्था कमजोर अवस्थामा पुगेकाले सरकारको ध्यान अर्थतन्त्र सुधारमा भएको बताउनुभएको छ ।

बिहीबार प्रेस सेन्टर दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री शर्माले अत्यन्त कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्रलाई सुधार गर्न सरकार लागिरहेको बताउनुभएको हो ।

‘‘अहिले देशको आर्थिक अवस्था अत्यन्त कमजोर अवस्थामा पुगेको छ । जसले गर्दा सरकारले सोचे अनुसार काम गर्ने अवस्था छैन,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘बिग्रिएको अर्थतन्त्रको सबलीकरणमा सरकारले ध्यान दिइरहेको छ ।’’

मन्त्री शर्माले देशमा आर्थिक सङ्कट गहिरिँदै गएको हुँदा सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्न खोजेको समेत बताउनुभयो ।

‘‘अधिकांश स्थानमा अनावश्यक ठाउँमा लगानी गर्ने र कर्मचारी भर्ती हुँदा खर्च बढेको, अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई भार बढेको छ’’, मन्त्री शर्माले भन्नुभयो, ‘‘अनावश्यक ठाउँमा लगानी गर्नेभन्दा कम लगानीमा बढी प्रतिफल दिने योजनामा सरकारले लगानी गर्नेगरी अघि बढेको छ ।’’

उहाँले लामो समयदेखि टुङ्गोमा पुर्‍याउन नसकिएको सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन, सीमा समस्या समाधान गर्न, राज्यको शासन प्रणाली व्यवस्थित गर्दै जनतालाई छिटोछरितो राज्यका सेवा प्रवाह गर्नेगरी सरकारले व्यवस्था मिलाएको बताउनुभयो ।

मन्त्री शर्माले त्यसको उपलब्धि स्वरूप वैदेशिक रोजगारीमा जाने नेपालीहरू सामाजिक सुरक्षा कोषमा समेटिएको, राहदानी प्राप्त गर्ने प्रक्रिया सहज भएको, लामो समय अलपत्र अवस्थामा रहेका कानुनहरू निर्माण भएको बताउनुभयो ।

यसैगरी, मन्त्री शर्माले दाङको घोराही–तुलसीपुर चारलेन सडक आयोजनाको काम नयाँ ढङ्गबाट थालनी गर्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।भारतीय एक्जिम बैङ्कको लगानीमा भारतीय निर्माण कम्पनीबाट सडक निर्माणको काम गर्दा लामो समयसम्म बन्न नसकेको र जनताले धेरै दुःख पाएको भन्दै मन्त्री शर्माले ठेक्का तोडेर नेपाली निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिने गरी सरकारले प्रक्रियालाई अघि बढाएको बताउनुभयो ।

‘‘घोराही तुलसीपुर फोरलेन सडकमा एउटा मात्रै ठेकेदारले होइन, अहिलेसम्म नौ वटा ठेकेदारलाई काम गर्न लगाउँदा पनि भौतिक प्रगति देखिएन’’, मन्त्री शर्माले भन्नुभयो, ‘‘यो एक्जिम बैङ्कको लगानी भएको घोराही तुलसीपुर सडक मात्रै होइन । देशभरी नै सडकहरू समस्यामा छन् । ती सबै सडकको समस्या समाधान गर्नेगरी पहल भइरहेको छ  ।’’

मन्त्री शर्माले एक्जिम बैङ्कको लगानीलाई नेपाली निर्माण कम्पनीबाट गराउने गरी नीतिगत रूपमा सहमत जुटाउने काम भइसकेकाले असार अघि नै चारलेन सडक निर्माणको कामलाई नयाँ ढङ्गबाट अघि बढाउन सकिने बताउनुभयो । साथै उहाँले सडक निर्माणको काम नहुँदा अस्तव्यस्त र जीर्ण बनेको सडक निर्माणका लागि कम्पनीले काम नगर्दासम्म सरकारले बजेट विनियोजन गरेर सडक मर्मतको कार्यलाई अघि बढाउने समेत बताउनुभयो ।