काठमाडौं, वैशाख १४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन् । राजधानीको नयाँबानेश्वरमा सम्पर्क समितिहरू सँगको छलफलका क्रममा आयोजित कार्यक्रममा नेता महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘बदलिँदो राजनीतिक परिदृश्यको समीक्षा गर्दै हामीले आगामी नीति कसरी अवलम्बन गर्ने भन्ने विषयमा नीति अधिवेशनबाट टुङ्गो लगाउनुपर्छ ।’’
प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र साङ्गठनिक गतिविधि शून्य हुन पुगेको नेता महरको भनाइ छ ।
मङ्सिर ४ मा आम निर्वाचन भएर वैशाख १० मा उपनिर्वाचन भइसक्दा समेत केन्द्रीय समिति बैठक बोलाउन पार्टी नेतृत्वले आवश्यक नठान्नु दुःखद भएको उहाँले बताउनुभयो ।
महराले भन्नुभयो, ‘‘पार्टीलाई व्यवस्थित, समय सान्दर्भिक र परिष्कृत बनाउनका लागि पनि चाँडोभन्दा चाँडो नीति अधिवेशन आह्वान गर्नुपर्छ । अब हामी नीति, नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्छ ।’’
पार्टीमा देखिएका कमीकमजोरीबारे गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बेला आएको उहाँको भनाइ छ । महरा भन्नुहुन्छ, ‘‘हाम्रासामु जनताको भावना र परिवर्तनलाई आत्मसाथ गर्नसक्ने कांग्रेस निर्माण गर्नुपर्ने चुनौती छ । यसको सामना गर्न समयानुकूल रणनीति अख्तियार गर्न हामीलाई चुक्ने छुट छैन ।’’
उपनिर्वाचनको नतिजाले पनि कांग्रेस पूर्णरूपमा परिष्कृत हुनुपर्ने सन्देश दिएको उहाँको बताउनुभयो । नागरिकको भावनाअनुसार काम गर्न सकेमात्रै मुलुकमा स्थायित्वको राजनीति गर्न सकिने महराले बताउनुभयो । उपनिर्वाचनको नतिजा मूल धारका राजनीतिक दलभन्दा बाहिर जानु चिन्ताको विषय भएको उहाँको भनाइ थियो ।
‘‘मूल धारका राजनीतिक दलहरूले उपनिर्वाचनमा अपेक्षित नतिजा नल्याउनुमा आम निर्वाचनपछि बनेको बाम गठबन्धन र उनीहरूको भूमिका पनि बाधक बन्यो,’ उहाँ भन्नुहुन्छ, ‘‘कांग्रेस नेतृत्वको चुनावअघिकै गठबन्धन कायम रहेको भए पनि यो अवस्था आउने थिएन । केही परिस्थितिले राजनीति फेरिन पुग्यो । त्यसले मूलधारका सबै राजनीतिक दललाई असर गर्यो ।’’
राजनीतिक नेतृत्वप्रति जनतामा वितृष्णा पैदा हुँदा नवोदित शक्तिहरूलाई फाइदा पुगेको महरको बुझाइ छ । मुलुकको स्थायी राजनीतिक शक्ति मूलधारका पार्टी रहेको भन्दै कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
‘‘स्थायी राजनीतिक शक्ति पनि मूलधारकै पार्टी हुन् । केही गल्ती कमजोरी पनि भएका होलान् । अब ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ ।’’ उहाँले भन्नुभयो । ठूला राजनीतिक दलहरूले समयसापेक्ष राजनीतिक दललाई परिवर्तित गर्न नसक्दा मुलुकको राजनीति लिक बाहिर जान खोजिरहेको उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
‘‘हामीमा राम्रा कामको जस लिने र गलत काम भए क्षमा माग्दै सच्चिँदै जनभावना अनुसार अगाडि बढ्ने भावनाको विकास गर्ने परिपाटी बसाउँदै जानुपर्छ,’’ महराले भन्नुभयो, ‘‘पछिल्लो राजनीतिक स्थितिले नीति र नेतृत्वमा बदलाव र गतिशीलता खोजेको सङ्केत दिएको छ । हामी यसका लागि तयार हुनुपर्छ ।’’
समाज परिवर्तनशील हुने भएकाले राजनीतिक दल पनि सोही अनुरूप गतिशील हुनसक्नुपर्ने उहाँको तर्क छ ।