• २७ पुस २०८१, शनिबार

पालिका पहुँच मार्ग निर्माणमा ढिलाइ

blog

रेखीराम राना

पाल्पा, वैशाख १४ गते । पाल्पाका अधिकांश पालिकाका केन्द्रसम्म पुग्ने पहुँच मार्ग निर्माणमा ढिलाइ भइरहेको छ। राजमार्ग तथा सहायक राजमार्गदेखि पालिकाको केन्द्रसम्म जोड्न पहुँच मार्ग बनाउन आवश्यक बजेट अभावमा काममा ढिलाइ भएको हो। 

पाल्पाका १० पालिकामध्ये पाँच पालिकाका केन्द्रसम्म पुग्ने स्तरीय मार्ग (कालोपत्रे) बनेको छैन। निस्दी, पूर्वखोला, रम्भा, माथागढी र तिनाउ गाउँपालिकाको केन्द्रसम्म पुग्न पहुँच मार्ग बनाउनुपर्ने आवश्यकता छ। 

प्रदेश तथा सङ्घीय सरकारबाट बजेट विनियोजन नहुँदा पहुँच मार्ग निर्माण हुन नसकेको पालिकाका जनप्रतिनिधि बताउँछन्। पहुँच मार्गका लागि यो पाँच वर्षमा पूर्वखोला गाउँपालिकामा मात्रै काम भइरहेको छ। पूर्वखोला गाउँपालिकाको केन्द्रसम्म पुग्न हुमिनबाट १६ किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको सडक पूर्वाधार विकास कार्यालय, पाल्पाका प्रमुख अरुण गुप्ताले जानकारी दिनुभयो। 

लुम्बिनी प्रदेश सरकारको १७ करोड १५ लाख ३० हजार बजेटबाट सडक कालोपत्रे गर्ने काम भइरहेको प्रमुख गुप्ताले बताउनुभयो। २०७८ साल वैशाख २१ गते सम्झौता भएअनुसार सडक कालोपत्रे गर्ने काम भइरहेको छ। 

आगामी आर्थिक वर्ष २०८० कात्तिकभित्र काम सक्ने योजना रहेको कार्यालयले जनाएको छ। पूर्वखोलाबाहेक निस्दी गाउँपालिकामा पुग्न १० देखि १५ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेछ। निस्दी गाउँपालिकासम्म पुग्ने पहुँच मार्गका लागि बजेट विनियोजन हुन नसकेको पालिकाका अध्यक्ष मुक्तबहादुर सारूले बताउनुभयो। 

माथागढी गाउँपालिकाको केन्द्र झडेवासम्म पुग्न छ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ। पालिकाको केन्द्रसम्मको पहुँच मार्गका लागि प्रदेश र सङ्घीय सरकारलाई बजेट माग गरे पनि बजेट आउन नसकेको पालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो।  पहुँच मार्गको स्तरोन्नति हुन नसक्दा सेवाग्राहीलाई बर्सातको समयमा पालिकासम्म यात्रा गर्न असहज हुने गरेको उहाँले बताउनुभयो। “पालिकाको बजेटले पुग्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “केन्द्र र प्रदेशबाट बजेट आउन सकेको छैन।”

यस्तै रम्भा गाउँपालिकाको पनि तीन किलोमिटर सडक स्तरोन्नति हुन सकेको छैन। प्रदेश सरकारले सडक फराकिलो गर्ने काम गरे पनि थप स्तरोन्नतिका लागि बजेट अभाव भएको पालिकाले जनाएको छ।

यस्तै तिनाउ गाउँपालिकाको केन्द्रसम्म पुग्ने पहुँच मार्ग निर्माण हुन सकेको छैन। सिद्धार्थ राजमार्गदेखि पालिकाको केन्द्रसम्म पुग्न एक किलोमिटरभन्दा कम दूरी भए पनि पहुँच मार्गका लागि बजेट नहुँदा निर्माण गर्न नसकिएको हो। 

केन्द्रबाट बजेट नआए पनि पालिकाले सडकका लागि बजेट जुटाउन ध्यान नदिएको स्थानीयवासीको भनाइ छ। सङ्घ र प्रदेश सरकारले पालिकासम्म पुग्ने पहुँच मार्ग निर्माण गर्ने नीति अख्तियार गरे पनि बजेट व्यवस्थापनमा ध्यान नदिएको स्थानीय तहका जनप्रतिनिधि बताउँछन्।