• २७ पुस २०८१, शनिबार

‘लु लानूस्, काफल काफल’

blog

विशाल सुनार

दुल्लु (दैलेख), वैशाख १४ गते  । दैलेख–सुर्खेत सडक छेउछाउ यति बेला काफल मेला लाग्ने गरेको छ। चैत, वैशाख महिनामा यस सडक वरपरका रातानाङ्ला, रानीमत्ता, गुराँसे, गाईबान्ना, डबलगैरा, घोडाबास आसपासका घुम्तीमा काफल मेला लाग्छ। सडक छेउमा लाम लागेर बालबालिका, युवा र पाका उमेरका मानिस काफल बेच्न व्यस्त हुन्छन्, ‘लु लानूस् काफल काफल।’

यो मौसममा काफल बेचेर कतिपयले राम्रै आम्दानी पनि गरेको पाइन्छ। गुराँस गाउँपालिका–४, गाईबान्नाकी मनीषाकुमारी उपाध्यायले केही वर्षदेखि काफल बेच्दै घरखर्च चलाउँदै आउनुभएको छ। उहाँले भन्नुभयो, “अरू बेला तरकारी बेच्छु। यो मौसममा काफल, चुत्रो, ऐँसेलु बेचेर आम्दानी गर्छु।”

सडकमा यात्रा गर्नेले समेत मौसमअनुसारको झरिला काफल, चुत्रो र ऐँसेलु खुसीसाथ लिन्छन्। स्थानीय शान्ति खत्रीले सुर्खेत–दैलेख सडक निर्माणपछि बाटोमा तरकारी र फलफूल बिक्री गरेर आम्दानी गर्न सहज भएको बताउनुभयो। 

सो स्थानमा काफल मात्रै होइन गुराँस बिक्री हुन्छ। वरिपरिका किसानले आलु, टमाटर, काउली ल्याएर बिक्री गर्ने गरेका छन्। निउरो, डौंडे, घिउ, दही, दूधसमेत बिक्री गर्ने थलोका रूपमा सडक किनार विकास हुँदै गएको छ। स्थानीय उपेन्द्र दर्लामीले चराले खाएर खेर जाने काफल, चुत्रो, ऐँसेलु बेचेर घरखर्च चलाउन सहयोग पुग्ने गरी आम्दानी गर्न सफल भएको बताउनुभयो।