• २७ पुस २०८१, शनिबार

छ उम्मेदवारको जमानत जफत

blog

तनहुँ समाचारदाता 

तनहुँ, वैशाख १४ गते । वैशाख १० गते सम्पन्न तनहुँ–१ प्रतिनिधि सभा सदस्य उपविर्नाचनमा उम्मेदवार बनेका छ जनाको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस तथा नेकपा (एमाले)को मात्रै जमानत जफत नभएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । 

कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानुनबमोजिम उम्मेदवारको जमानत जफत भएको हो । उम्मेदवारी दिएका नौ जनामध्ये छ जनाले १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । 

निर्वाचनमा ६५ हजार ३१६ मत खसेकामा ६४ हजार १३५ मत सदर भएको थियो । जसमध्ये रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले ३४ हजार ९११ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो  । नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नुभएको थियो  ।   ढकालका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शोभा गुरुङले २१८, मङ्गोल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत मत प्राप्त गर्नुभएको छ । नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१ र नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठले पाँच मत प्राप्त गर्नुभएको थियो । उहाँहरू सबैको जमानत जफत भएको छ ।