• २४ पुस २०८१, बुधबार

बिदामा पनि सेवा प्रवाह गर्दै मालपोत कार्यालय

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १३ गते । मालपोत कार्यालय तम्घास गुल्मीले सार्वजनिक बिदामासमेत सेवा प्रवाह गर्ने भएको छ। सार्वजनिक सूचना जारी गर्दै मालपोत अधिकृत खेतबहादुर खत्रीले विभिन्न १७ सार्वजनिक बिदामा पनि मालपोत कार्यालयले सेवा प्रवाह गर्ने बताउनुभएको हो । 

नेपाल सरकारले २०८० वैशाख १ गतेदेखि चैत मसान्तसम्म वर्षभरि सबै कार्यालय तथा सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गरेको सूचना प्रकाशित भए बमोजिम भूमि व्यवस्थापन तथा अभिलेख विभागको पत्रअनुसार सार्वजनिक बिदामा कार्यालयबाट सेवा प्रवाह गरिने भएको उहाँको भनाइ छ । 

मालपोत अधिकृत खत्रीका अनुसार उभौली पर्व–चण्डी पूर्णिमा बुद्धजयन्ति, गणतन्त्र दिवस, रक्षाबन्धन र घोडेजात्रा, कृष्णजन्माष्टमी, गाईजात्रा, घटस्थापना, किस्मस डे, उभौली पर्व (धान्य पूर्णिमा), तमुल्होसार, पृथ्वीजयन्ती, माधि पर्व (माघे सङ्क्रान्ति), राष्ट्रिय प्रजातन्त्र दिवस, महाशिवरात्रि र अन्तर्राष्ट्रिय महिला दिवस, ग्याल्बो ल्होसार, ईद (ईदउल फित्र), बकर ईद (ईद उल अजहा), मत्छेन्द्रनाथको भोटो देखाउने जात्रा लगायतका सार्वजनिक बिदामा पनि कार्यालयबाट सेवा प्रवाह गरिने भएको छ।

सार्वजनिक बिदाको समयमा नामसारी माग निवेदनमा तोक दर्ता गरी सनाखत गराउने तथा हकछाडपत्र मञ्जुरी निवेदनमा समेत सनाखत गराउने, डोर माग भएका लिखत निवेदनमा सनाखत गर्ने, फिल्ड निरीक्षण, सर्जमिन मुचुल्का गर्ने गराउने, लिखतको नक्कल र मिसिलको नक्कल माग भएमा उपलब्ध गराउने, एलआरआइएमएसबाट श्रेस्ताको नक्कल र प्रतिलिपि उपलब्ध गराउने लगायतका सेवा प्रवाह गरिने बताइएको छ।