• ६ वैशाख २०८१, बिहिबार

उपनिर्वाचन २०८० : रास्वपालाई लोकप्रिय मत

चितवनमा रविको मत बढ्यो, तनहुँमा स्वर्णिमको उदय

blog

तस्बिर गोरखापत्र ग्राफिक्स

काठमाडौं, वैशाख १२ गते। चितवन र तनहुँमा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना मंगलबार सम्पन्न भयो। बारामा मतगणना जारी छ। उपनिर्वाचनमा चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन्। 

बागमती प्रदेश अन्तर्गत चितवन प्रतिनिधिसभा सदस्य उपनिर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५४ हजार १७६ मतसहित विजयी हुनुभयो। उहाँ ४२ हजार ९६२ भारी मतान्तरले विजयी हुनुभएको हो। उपनिर्वाचनमा उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गर्नुभयो।

मंसिर ४ को निर्वाचनमा लामिछाने भारी मतान्तरले अर्थात् ४९ हजार तीन सय मतसहित विजयी हुनुभएको थियो। उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गर्नुभएको थियो। 

यसैगरी, चितवन २ उपनिर्वाचनमा नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गर्नुभएको छ। यसअघि मंसिर ४ मा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गर्नुभएको थियो।  

अहिलेको उपनिर्वाचनमा कांग्रेसको करिब तीन हजार र एमालेको चार हजार गरेर करिब सात हजार मत रास्वपाका लामिछानेलाई गएको देखिन्छ। सर्वोच्च अदालतको माघ १३ गतेको फैसलाले तत्कालीन उपप्रधान एवम् गृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई नागरिकता सम्बन्धी मुद्दामा सांसद पद बदर भएको ठहर गरेसँग चितवन २ मा उपनिर्वाचन भएको हो। 

तनहुँमा स्वर्णिमको उदय

गण्डकी प्रदेश अन्तर्गत तनहुँ प्रतिनिधिसभा क्षेत्र नम्बर १ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले १४ हजार ७९७ फराकिलो मतान्तरले विजयी हुनुभयो। वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो। वाग्ले नेपाली कांग्रेस परित्याग गरेर चैत १६ गते मात्र रास्वपा प्रवेश गर्नुभएको हो। 

मंसिर ४ को निर्वाचनमा तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार ३६१ मतसहित विजयी हुनुभएको थियो। पौडेल ५ हजार ३८० मतान्तरले विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार ९८१ मत ल्याउनुभयो। तनहुँ १ मा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नुभयो। सो क्षेत्रमा मंसिर ४ को निर्वाचनमा रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गर्नुभएको थियो। 


कांग्रेसको करिब पाँच हजार, एमालेको ११ हजारभन्दा बढी मत रास्वपाका वाग्लेलाई गएको देखिएको छ। गत फागुन २५ गते राष्ट्रपतिमा पौडेल निर्वाचित भएसँगै सो क्षेत्रको सांसद पद रिक्त भएको थियो। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।