• १२ वैशाख २०८१, बुधबार

मध्यविन्दुमा कृषिउपज सङ्कलन केन्द्र स्थापना

blog

स्थानीयस्तरमा उत्पादन गरिएका तरकारी कृषिउपज संकलन केन्द्रमा विक्री गरिदै । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, वैशाख १२ गते । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका –१ पतवारीमा कृषिउपज सङ्कलन तथा विक्री केन्द्र स्थापना भएको छ । स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबाली लगायतका कृषिउपज सामग्री विक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सङ्कलन केन्द्र सञ्चालन गरिएको वडाध्यक्ष तिलकराम न्यौपानेले जानकारी दिनुभयो । 

‘व्यावसायिक कृषिलाई प्रोत्साहन गरी कृषकलाई अधिकतम लाभ दिन कृषि सङ्कलन केन्द्र उपयोगी हुनेछ भन्ने मेरो विश्वास छ’ वडाध्यक्ष न्यौपानेले भन्नुभयो, ‘कृषि सङ्कलन केन्द्रबाट नगरपालिका भित्रका कृषकलाई लाभ हुनेछ ।

कृषिउपज सङ्कलन तथा विक्री केन्द्र सञ्चालन भएसँगै त्यहाँका कृषकहरू खुसी भएका छन् । उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन सङ्कलन तथा बिक्री गर्न सहज हुनेभएको छ । सो केन्द्र स्थापनाले तरकारी खेतीमा संलग्न दुई सयभन्दा बढी किसान लाभान्वित भएका छन् ।

विगत तीन वर्ष यता, स्थापना भएको भवन कोरोना तथा विभिन्न कारणवश सञ्चालन हुन नसकेको अवस्थामा थियो । अहिले यहाँबाट किसानले सेवा लिन थालेका छन् । बजारीकरणको समस्यासँगै, उचित मूल्य नपाएका किसानलाई अब यस केन्द्रबाट सेवा विस्तारमा सबै एकजुट भए कतैबाट पनि किसान ठगिन नपर्ने सङ्कलन केन्द्रका अध्यक्ष हिमबहादुर केसीले बताउनुभयो ।

तरकारी सङ्कलन केन्द्र नहुँदा विगतमा तरकारी उत्पादनमा संलग्न किसानले सास्ती खेप्दै आएका थिए । तरकारी उत्पादन भए पनि विगतमा बजार नपाउँदा तरकारी खेतमा कुहिनेगरेको बजार व्यवस्थापन समितिका संयोजक आनन्दराम भुसालले भन्नुभयो, ‘सङ्कलन केन्द्र स्थापनासँगै यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी जिल्लाभित्र मात्र नभएर बाह्य जिल्ला नारायणघाट, पोखरा, काठमाडौंसम्म पुग्न थालेको छ ।

तरकारी खेतीमा संलग्न किसानलाई सहजता प्रदान गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, युएनडिपी, कृषि शाखा चोरमारा र मध्यबिन्दु नगरपालिका गरी सबै क्षेत्रको सहयोगबाट करिब ५० लाखको आर्थिक सहयोगमा सङ्कलन केन्द्र स्थापना गरिएको हो ।

कोल्हुवा क्षेत्र तरकारी र फलफूल उत्पादनको हिसाबले उर्बरभुमि मानिन्छ । चिसो हावापानी भएको कोल्हुवा क्षेत्रमा रहेका अभिवन, गुडचरी, पतवारी, लेढा र ब्रम्हस्थान लगायतका ठाउँमा तरकारी र फलफूल प्रशस्त उत्पादन हुनेगर्छ । उद्घाटन कार्यक्रममा कृषकले आफ्ना उत्पादित तरकारी ल्याइ बिक्री गरेका छन् । स्थानीय महिला सहकारीद्वारा उत्पादन गरिएका तरकारी समेत विक्रीका लागि राखिएको छ ।