• २३ पुस २०८१, मङ्गलबार

पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह

blog

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबीच भेटवार्ता । तस्बिर : रासस

गण्डकी, वैशाख १२ गते । पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले आज (मङ्गलबार) नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गलाई भेट गरी पोखराबाट चीनका विभिन्न सहरमा सिधा उडान गर्ने व्यवस्था मिलाइदिनका लागि अनुरोध गरेको हो ।

सो क्रममा कोरला नाका छिटो खोल्नका लागि विशेष पहल गर्न पनि राजदूतसँग अनुरोध गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

भेटघाटमा पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिराज तिमल्सिना, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापति, ओभरसिज चाइनिज नेपाल एसोसिएसनका अध्यक्ष, सचिव लगायतको उपस्थिति थियो ।

पोखरेली पर्यटन व्यवसायीका तर्फबाट चिनियाँ राजदूतावासको आयोजनामा जुनको २२ र २३ मा पोखराको फेवातालमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभललाई भव्य बनाउनका लागि पनि आफूहरू प्रतिबद्ध रहेको उक्त अवसरमा जानकारी गराइएको थियो । रासस