कुरो सन् १९८५ को अगस्टतिरको हो । त्योबेला म ब्रिटिस काउन्सिलको छात्रवृत्ति पाएर पढ्न बेलायत पुगेको थिएँ । त्यहाँ आठहप्ते अङ्ग्रेजी भाषा पढेर मेन कोर्समा पठाउने व्यवस्था रहेछ । एक त मजस्तो नेपालको पूर्वी दुर्गम जिल्ला भोजपुरको पनि दुर्गम गाउँ कुलुङमा जन्मेको मान्छे । दैनिक बिहान डेढ दुई घण्टा उकालो र बेलुका झन्डै त्यत्तिकै समय ओरालो हिँडेर सामान्य सरकारी स्कुलमा पढेको मान्छे । कलेजको अनुहारै नदेखी प्राइभेट परीक्षार्थी भई स्नातक उत्तीर्ण मजस्तो बबुरोले बेलायतमा युनिभर्सिटी पढ्न सक्ने तहको अङ्ग्रेजी भाषा कहाँबाट आउनु ? तैपनि अङ्ग्रेजी टेस्ट परीक्षामा आवश्यक न्यूनतम स्कोरभन्दा माथि नै ल्याउन सकेकाले ब्रिटिस काउन्सिलबाट छानिएर जान पाएको थिएँ । सामान्यतया धेरै विद्यार्थीलाई मेनकोर्स सुरु हुनुअघि केही हप्ता अङ्ग्रेजी सिकाउने र त्यही अवधिमा ब्रिटिस परिवारसँग राखिदिएर त्यहाँको समाज, रहनसहन, भाषा, संस्कृति आदि सिकाउने अभिप्राय पनि हुँदोरहेछ । यही उद्देश्यले मलाई वेडफोर्ड सहरको वेडफोर्ड इङ्लिस स्टडी सेन्टरमा जान भनियो र म त्यहाँ पुगेँ । सुरुमा केनेट परिवारसँग बसे पनि त्यो ठाउँ अलि टाढा भएकाले मैले मेरो प्रोग्राम अफिसरलाई अनुरोध गरेपछि मलाई अर्को दम्पतीकहाँ बस्ने व्यवस्था मिल्यो जुन वेड्फोर्ड हाई स्ट्रिटबाट अलि नजिक पर्दथ्यो ।
सुरुमा त्यो स्टडी सेन्टरमा अङ्ग्रेजी पढ्न जाने नेपाली म नै पहिलो भएछु, पछिल्ला हप्ताहरूमा भने ३, ४ जना नेपाली मित्र थपिनुभयो । कोही विश्वविद्यालयमा प्राध्यापन गर्ने, कोही सरकारी कर्मचारी, कोही डाक्टर आदि । त्यसपछिका दिन यति रमाइलो हुनथाल्यो कि कुरै नगरौँ । विदेशी भूमिमा, अरू कुनै झन्झट छैन उन्मुक्त । पढ्ने सेन्टर एउटै तर बसाइ अलग अलग परिवारसँग । सबै मिल्ने भएकाले साँझ प-यो कि कुनै पब (वार) मा हामी जमिहाल्ने । त्यो क्रम प्रायः हरेक दिन चल्थ्यो । कहिलेकहीँ त दिउँसै एक ठाउँमा भेला भयो, झोलामा ५, ६ वटा क्यान बियर हाल्यो अनि कुनै पार्कको बेन्चमा बसेर तन्कायो । सामान्यतया पार्कमा बसेर मादक पदार्थ पिउन वर्जित हुन्छ तर हामी त के टेथ्र्यौं ? नेपाली न परियो । उसै पनि “जब होता है सूर्यास्त, तब होता है नेपाली मस्त” भनेर बदनाम हामीहरू । सुनसान पार्कमा कसले पो वास्ता गर्छ र यसै पनि । हामी सल्लाह गथ्र्यौं– कसैले देखिहाले भने पनि हामी विदेशी हौँ, थाहा थिएन भन्ने । त्यसो भन्न पाउने छुट पनि हुन सक्थ्यो विदेशीका नाताले । कुरै न हो । कोक पियो कि बियर ? कसले भन्ने । कोक त पिउन पाइन्छ नि । रित्ता क्यान फेरि झोलामा हाल्यो, सार्वजनिक ठाउँका फोहोर फाल्ने भाँडोमा फाल्यो अनि लाग्यो आआफ्ना बासस्थानतर्फ । ती रमाइला दिनहरू अब त के आउलान् र ? सम्झँदा अहिले पनि रमाइलो लाग्छ ।
सधँैझँैं एक साँझ हामी चारै जना वेड्फोर्ड सिटी सेन्टरकै एउटा पबमा गएर जम्याँैं । हामीमध्ये एक जना मित्र हुनुहुन्थ्यो, नरेन्द्र रिजाल । खास घर ताप्लेजुङ भए पनि झापा दमकमा बसोबास रहेछ उहाँको । घरेलु विभाग त्रिपुरेश्वरमा काम गर्नु हुँदोरहेछ । हामीमध्ये उहाँ बियरका अलि बढी पारखी । गफ गाफ गर्दै पिउँदा पिउँदै समय बितेको पत्तै भएन । पौने एघारको वार्निङ बेल बजेपछि पो झसङ्ग भयाँै । अब त भयो जाऊँ, पब बन्द हुन्छ भन्दा पनि नरेन्द्रजी माने पो । त्यसो त हामीले १० बजे नै अब पुग्यो जाऊँ भनेका हौँ । बेलायतमा दस एघार बजे भनेको धेरै ढिलो पनि हो तर हामी नेपालमा जस्तै जमेको जमै । यहाँ पब रातिको ११ बजे बन्द हुने हुँदा १५ मिनेटअघि वार्निङ बेल बजाइँदो रहेछ । पबका कर्मचारी आएर अब पब बन्द हुन्छ, तपार्इंहरू गइदिनुस् भनेपछि बल्ल हामी उठेर आआफ्ना बासस्थानतर्फ लाग्याँैं । बासस्थान भन्नाले पेइङ गेस्टका रूपमा अलगअलग ब्रिटिस परिवारमा विदेशी विद्यार्थीलाई एट्याच गरेर राखिएको घर भन्ने बुझिन्छ । एउटा परिवारले एउटा मात्र विद्यार्थी राख्न पाउँछ । जसलाई ब्रिटिस काउन्सिलले सिधै भुक्तानी दिनेगर्छ ।
म एउटा वृद्ध दम्पतीको घरमा बस्थेँ । त्यो घरनजिकै भए पनि सुनसान सडक पार गरेर अलि घुमेर जानुपथ्र्याे । घुमौरो मोड पार गरेर हिँड्दै म एक्लै जाँदै थिएँ । अलि पर केही उदन्डजस्ता देखिने १०, १२ जना युवा हल्ला गर्दै, हल्लिँदै मेरो विपरीत दिशातिरबाट आउँदै थिए । म उनीहरू आएकै फुटपाथतिरबाट जाँदै थिएँ । उनीहरू मतिरै अगाडि बढ्दै थिए । मलाई नजिकै देखेर एक दुई जनाले कराएको सुनेँ ः ‘यु एसियन बास्टर्ड...’ । तिनीहरू अरू पनि के के बर्बराउँदै थिए, मैले त्यति प्रष्ट सुनिनँ । तिनीहरू कोही पूरै कपाल काटेका तर बीचमा प्वाँख टाँसेका, कोही अनुहारभरि पेन्टिङ गरेका, कोही मुन्द्रे, कोही लामो कपाल भएका पङ्कसहरू रहेछन् । मलाई लाग्यो यिनीहरू पनि कुनै पबबाट टन्न पिएर घरतिर फर्केका होलान् ।
मैले सुनेको थिएँ यस्ता पङ्कसहरू बदमास हुन्छन्, हुल्याहा हुन्छन् । हामी विदेशी त के, आफ्नै अधिराज्यभित्रका वेल्स, स्कटिस वा आइरिसलाई पनि देख्न सक्तैनन् । कट्टर हुन्छन् । म डराएँ र जम्काभेट नहोस् भनेर अलि परैबाट सडक पार गरेर अर्को फुटपाथतिर लागँे । मलाई लाग्यो– यिनीहरूले मलाई आज बाँकी राख्दैनन् । एक्लो छु र रातिको ११ बजेको छ । म के पो गर्न सक्छु र ? मेरा नौ नारी गलेर आए । पटक पटक– यु एसियन ... बास्टर्ड भन्दै कराउँदै तिनीहरू आगाडि बढे । म छिटोछिटो पाइला अगाडि बढाएर अलि माथि पुगेपछि बल्ल सम्भावित आक्रमणबाट जोगिएँ भनेर लामो सास फेरँे । यिनीहरूले म नेपाली भन्ने त के थाहा पाउनु र ! एसियन भनेर विशेषगरी भारतीय, पाकिस्तानी र बाङ्लादेशीलाई भन्ने गर्छन् भन्ने मैले सुनेको थिएँ । मलाई पनि त्यही ठाने होलान् । छालाका कारणले होला हामी एसियनहरूलाई हेपेका । दक्षिण अफ्रिकामा रङ्गभेद नीतिका पृष्ठपोषक न हुन् यिनीहरू । यिनीहरू अलि परै पुगेपछि म ढुक्क भएँ, घर पनि आइपुग्यो । ढोका थुनेर सुतेँ तर त्यो घटनाले त्यो रात म राम्ररी सुत्न सकिनँ ।
बेलायतमै हुँदाका एक दुईवटा अरू घटना सम्झिन्छु । वेड्फोर्डमै रहँदाको एउटा बडो रमाइलो घटना मेरो स्मृतिपटलमा अझै ताजै छ । हुन त सन्दर्भ र परिस्थिति अहिले धेरै फेरिइ पनि सक्यो । तर त्योबेला भने यो जल्दोबल्दो विषय थियो । हामीलाई अङ्ग्रेजी पढाउने एउटी मारिया नामकी लेक्चर थिइन्, अलि कडा मिजासकी, पातलीपातली अग्ली तर पक्का अङ्ग्रेजी राष्ट्रवादकी पक्षपाती । उनले क्लासमा सन्दर्भवश तेस्रो विश्वमा प्रेस स्वतन्त्रता हँुंदैन, त्यहाँ हत्या दमनको बोलवाला हुन्छ, बोल्न लेख्न पाइन्न भनेपछि दक्षिण कोरियाको किम र घानाको बाबाटुन्डेले प्रतिवाद गरे । एक दुई जना अरूले पनि तिमी पश्चिमाहरू रङ्गभेद नीतिलाई मलजल गर्छौ, उकास्छौ, पूर्ण समर्थन गर्छौ भनेर आरोप लगाएपछि मारिया रिसले रातो भइन् । मैले पनि एक दुईवटा कुरा थपेँ– तपाईंहरू यहाँको प्रेस स्वतन्त्र छ भन्नुहुन्छ तर बीबीसीजस्तो संस्था पनि कतिपय कुरामा तेस्रो विश्वप्रति भेदभावपूर्ण व्यवहार गर्छ । आफू अनुकूलका सामग्री मात्र सम्प्रेषण गर्छ । हालै आइरिस रिपब्लिकन आर्मी चिफको अन्तर्वार्तालाई प्रसारण गर्न किन ब्रिटिस सरकारले रोक्यो ? (त्योबेला यो समाचार निकै चर्चामा थियो र तत्कालीन सम्बन्धित ब्रिटिस मन्त्रीले राजीनामा नै गर्नुपरेको थियो ।)
तपाईं पश्चिमाहरूको रङ्गभेद नीतिबारे सारा संसारलाई थाहा छ । केही अप्रिकी विद्यार्थीहरूले पनि थपे– दक्षिण अफ्रिकाको बोथा सरकारले नेल्सन मन्डेलालाई थुनेर राखेको छ अनि तिमीहरू समर्थन गर्छौ । गोरा हिँड्ने बाटोमा काला हिँड्न नपाइने, गोरा जाने सिनेमा हलमा कालाले हेर्न नपाउने । एउटै रेस्टुरेन्टमा खान नपाउने । दस प्रतिशत गोराले नब्बे प्रतिशतलाई शासन गर्ने ? अनि बेलायत र पश्चिमा देशहरू त्यही रङ्गभेद नीतिको समर्थन गर्ने । त्योबेला मन्डेला जेलमै थिए र इयन बोथा दक्षिण अफ्रिकाको शासक थिए । पश्चिमा देशहरू खुला रूपमा बोथा शासनलाई समर्थन गर्दथे । स्थिति अलि गम्भीर देखेर मारिया चुप लागिन् तर अन्तिममा ‘सरी गाइज’ भनेर क्लास चालु गरिन् । म सम्झन्छु– त्यो क्लास पुरै राजनीतिमय भएको थियो र हाम्रो आक्रोश मारियाप्रतिभन्दा पनि पश्चिमाहरूको नीतिप्रति थियो ।
लन्डन पुगेपछि सबैभन्दा पहिले मलाई त्यहाँको ‘लन्डन ट्युब’ अर्थात् लन्डनको अन्डरग्राउन्ड रेल हेर्ने तीव्र इच्छा थियो । त्यसैले पुगेको भोलिपल्टै ब्रिटिस काउन्सिलले बुक गरिदिएको वाटर लु स्टेसन नजिकैको स्यान्डेल स्ट्रिटमा रहेको चौबीसतले युनियन ज्याक होटेलबाट म नजिकैको वाटर लु स्टेसनमा पुगेँ । मलाई यो इच्छा किन पनि थियो भने काठमाडाँैस्थित ब्रिटिस काउन्सिलमा फिल्म वा डकुमेन्ट्री हेर्दा देखेको त्यो विभिन्न तलातला भएर कुद्ने अन्डरग्राउन्ड रेल मेरा लागि निकै अद्भुत र आश्चर्यजनक लाग्ने विषय थियो । मैले सुनेको थिएँ– बेलायतले आफूले शासन गरेका भारत र अफ्रिकाका मुलुकहरूबाट ल्याएका मजदुरबाट जमिन खन्न लगाएर निर्माण गरेको थियो । लन्डनमा नै सम्भवत विश्वकै पहिलो अन्डरग्राउन्ड रेल कुदेको थियो । त्यसैले पनि अरू कुराभन्दा पहिले म यो रेल कुुदेको हेर्न आतुर थिएँ ।
म एक्लै वाटर लु स्टेसन पुगेँ । यो स्टेसनको नाम प्रसिद्ध वाटर लु युद्धको सम्झनामा राखिएको रहेछ । मैले यो युद्धका बारेमा स्कुलमै पढेको पनि थिएँ । स्टेसनमा गएर सबै सूचनाहरू भएको ब्रोसियर लिएँ, पकेट म्याप लिएँ, पढेँ अनि दुई पाउन्डको एउटा टिकट किनेँ । त्यो टिकटले दिनभरि जति यात्रा गरे पनि हुँदोरहेछ । मलाई त अनुभव बटुल्नु मात्र थियो । २, ३ वटा स्टेसन गए त भैगो । हराउँछु कि भन्ने नलागेको त होइन, नलागोस् पनि कसरी ? नेपालमा कहाँ रेल चढ्न पाउनु ? त्यो पनि जमिनमुनिको । तर हराएँजस्तो लागेमा ट्याक्सी लिएर होटल जान सक्छु भन्ने आँटचाहिँ थियो ।
ब्रोसियर हेर्दा त वेकर लु लाइन, सेन्ट्रल लाइन, सर्कल लाइन, पिकाडिली लाइन, भिक्टोरिया लाइन आदि केके हो के के । नौवटा लाइनहरूले लन्डनभरि दुई सय अठहत्तरभन्दा बढी स्टेसनमा सेवा दिएका रहेछन् । (अहिले सँैतीस वर्षपछि पक्कै पनि धेरै नै होलान्) म अब वेकर लु लाइनकै रेलमा गएर २, ३ स्टेसन जान्छु भनेर सूचनापाटी र साइन पोस्टहरू हेर्दै जमिनमुनि पुगेँ । एउटा रेल स्पिडमा आयो, एकैछिन रोकियो, ढोकाहरू आफैँ खुले र आफैँ बन्द भए । केही मान्छेहरू ओर्लिए, केही चढे अनि त्यो रेल दौडिहाल्यो, त्यसमा म चढिनँ । हेरि मात्र रहँे । मलाई त जान्नु थियो । अर्को पनि आउला अनि चढाँैला भनेर पर्खिरहेँ । नभन्दै अर्को आयो, अनि अरू यात्रीसँगै म पनि चढेँ । चेरिङ क्रस स्टेसन पुगेर टिकट मेसिनमा छिराएर बाहिर निस्किएँ । पकेट म्याप हेरेर फेरि चढँे । अब वेकर लु लाइनकै पिकाडिली सर्कस स्टेसन पुगेर बाहिर निस्किएँ । अब अलिअलि तरिका जानिसकेको थिएँ । त्यही लाइन समातेर अक्स्फोर्ड सर्कस हुँदै वेकर लु आउँदा पनि सजिलै भयो । गाह्रो भएन । एउटा गज्जबको अनुभव बटुलेर होटेल पुगेँ । आनन्द आयो ।
यसरी नै लन्डन ट्युबमा यात्रा गर्दा एउटा स्टेसनमा मैले एक पटक एउटा अङ्ग्रेजले जुत्तामा पालिस गर्दै गरेको देखँे । मनमा लाग्यो– यो अङ्ग्रेजलाई म पनि जुत्ता पालिस गराउँछु । त्यसो त मेरो जुत्ता पालिस गराउनुपर्ने बेला भएको थिएन । तर संसारकै आधाभन्दा बढी भाग आफ्नो साम्राज्य बनाएको देशको नागरिक यो अङ्ग्रेजलाई मौकामा यो गरिब मुलुकको मान्छेले किन पालिस नगराउने ? पालिस गरिदियो, पैसा दिएर म अगाडि बढँे । अलि अगाडि जाँदै गर्दा अन्डरग्राउन्डकै कुनामा एउटा अङ्ग्रेज गितारको खोल भुइँमा राखेर गीत गाउँदै रहेछ । आउने जानेले त्यसको गितारको खोलमा अलि अलि पाउन्ड हालिदिँदा रहेछन्, मैले पनि अलिकति पैसा हालेर अगाडि बढँे । मलाई कता कता एक प्रकारको आत्मसन्तुष्टि प्राप्त भएको थियो ।