• ८ वैशाख २०८१, शनिबार

राजनीतिशास्त्री भन्छन् : लोकतन्त्र आवरणमा मात्र सीमित

blog

काठमाडौं, वैशाख ११ गते। वैशाख ११ अर्थात् लोकतन्त्र दिवस। विभिन्न नागरिक आन्दोलनको जगमा स्थापित लोकतन्त्र दिवस २०६४ देखि निरन्तर मनाइँदै आइएको छ।

प्रा. डा. लोकराज बराल लोकतन्त्र दिवसलाई गणतन्त्र प्राप्तिको दिनको रुपमा स्मरण गर्नुहुन्छ। लोकतन्त्र प्राप्तिपछि जनता आफैंले संविधान निर्माण गर्न पाएको, सबै वर्ग, जाति, धर्म, संस्कृतिलाई मिलाउने समावेशीकरणको प्राप्त भएको उहाँको भनाइ छ।

डा. बरालले भन्नुभयो, “धेरै कुरा छन्, गणतन्त्र आयो सबैभन्दा ठूलो उपलब्धि त्यही हो। गणतन्त्रको उपलब्धि भनेको जनताले बनाएको संविधान । समावेशीकरणको कुरा सबैलाई मिलाएर लाने। सबै वर्ग, जाति, धर्म, संस्कृति सबैलाई मिलाउने भन्ने भयो त्यो पनि एउटा उपलब्धि हो ।”

यस्ता उपलब्धि भए पनि राजनीतिक दलले व्यवहारमा उतार्न नसकेको उहाँको भनाइ छ । “तर, जुन व्यवहारमा उतार्नुपर्ने मुख्य कुरा छ, राजनीतिक दलको असफलता, उनीहरुको लोकतन्त्रप्रतिको प्रतिबद्वतामा प्रश्न उठेको छ । यो लोकतन्त्रको दोष होइन, गणतन्त्रको दोष होइन । नेताहरु सबैको राजनीतिलाई ठीक ठाउँमा चलाउन नसक्नुको दुष्परिणाम हो ”, उहाँले भन्नुभयो।

“धेरै कुरा छन्, गणतन्त्र आयो सबैभन्दा ठूलो उपलब्धि त्यही हो। गणतन्त्रको उपलब्धि भनेको जनताले बनाएको संविधान । समावेशीकरणको कुरा सबैलाई मिलाएर लाने। सबै वर्ग, जाति, धर्म, संस्कृति सबैलाई मिलाउने भन्ने भयो त्यो पनि एउटा उपलब्धि हो ।”

२०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनःस्थापना गरेको खुसीयालीमा यो दिवस मनाइँदै आएको हो । यस सम्बन्धको जिज्ञासामा उहाँले राजा अब इतिहासको पात्र मात्र रहेको भनाइ राख्नुभयो। उहाँले भन्नुभयो, “राजा सबै इतिहास भइसक्यो। त्यसलाई म महत्त्व दिन्नँ ।यो बेकारमा दुई, चारजना मान्छे कराएर भन्ने एउटा कुरा हो।त्यो पालामा सुनैसुन फलेको थियो भयङ्कर नै भएको थियो भन्नु, त्यो त्यस कारणले त्यो कुरा छोडौं ।” 

अहिले चितवन, बारा र तनहुँमा उपनिर्वाचनको प्रसंग जोड्नुहुँदै उहाँले चुनावले नेतालाई नयाँ पाठ सिकाउने बताउनुभयो। “चुनाव भइरहेको छ । नेतालाई यसले नयाँ पाठ सिकाउँछ होला किनभने, उनीहरुले गरेको काम कारबाहीप्रति जनता सन्तुष्ट छैनन्”, उहाँले भन्नुभयो।

प्राध्यापक कृष्ण खनालले एक वर्षमा वा एक दिनमा लोकतन्त्रलाई सम्झेर केही पनि अर्थ नहुने धारणा राख्नुभयो।राजनीतिक दल, मिडिया वा सरोकारवालाले दिवसका दिनमा औपचारिकताको धर्म निभाउने कुरा एक ठाउँमा रहे पनि यो दिवसमै मात्र सीमित भइसकेको उहाँको भनाइ छ।

प्रा. खनालले भन्नुभयो, “यो लोकतन्त्र वर्षमा एक पटक सम्झेर के अर्थ छ र ? यस दिन कसैले विषय खोज्नु  स्वाभाविक होला तर, लोकतन्त्र दिवस या यस्तैमा सीमित भइसक्यो ।” आजभोलि प्रविधि वा वातावरण सहज भएकाले नेतालाई पनि शुभकामना आदानप्रदान गर्न सहज भएको भन्नुहुँदै उहाँले व्यङ्ग्यात्मक ढंगले असन्तुष्टि पोख्नु भयो।

लोकतन्त्रको कुनै अर्थ नै नरहेको भनेपछि यसको अर्थ देश ठूलो घाटामा छ भन्ने जिज्ञासामा उहाँले राजनीति गर्ने व्यक्तिलाई लोकतन्त्र र मुलुकको नाफाबारे कुनै अर्थ नरहेको बताउनुभयो। “राजनीति गर्ने व्यक्ति सबै नाफामा छन्, मुलुकको घाटा, लोकतन्त्रको घाटासँग के अर्थ रह्यो ? लोकतन्त्र एउटा नाम मात्रै, एउटा देखाउने आवरण मात्र भयो। त्यसैले यसको कुनै अर्थ छैन”, उहाँले राजनीतिज्ञले लोकतन्त्रको मर्मलाई आवरणमा मात्र सीमित राखेको बताउनुभएको हो।

कुनै समय लोकतन्त्रको अर्थ यसको भावनाप्रति सम्मान व्यक्त गर्नुहुँदै उहाँले अहिले नेताले त्यसलाई चटक्कै बिर्सेको बताउनुभयो। “एक समय थियो, त्यसलाई चटक्कै बिर्सेर आफ्नो स्वार्थमा मात्रै राजनीति दौडिएको छ । त्यसैले यो एक वर्षमा, एक दिनमा सम्झना गर्नु, नगर्नुको कुनै अर्थ छैन”,  उहाँले भन्नुभयो।

प्रा. खनालले लोकतन्त्र कस्मेटिक अर्थात् श्रृङ्गार, पटार गर्ने वा देखाउने चिज बन्दै गएको गुनासो व्यक्त गर्नुभयो । तर, यसको अर्थ, जनता वा व्यक्ति सबै लोकतन्त्रप्रति विमुख छन् भन्ने भने नभएको भनाइ उहाँले राख्नुभयो ।

उहाँले भन्नुभयो, “यसको अर्थ यो होइन कि, जनता अथवा व्यक्ति सबै चाहिँ लोकतन्त्रप्रति विमुख छन् भन्ने चाहिँ होइन।यो आधार लोकतन्त्रले नै दिएको हो, राजनीतिले नै दिएको हो मुख्य आधार पनि । अब अलिकति समय आउँदा खेरी ती कुरामा एउटा नयाँ सोच निर्माण हुन सक्दछ ।” उहाँले परिवर्तन र राजनीतिक घटनाक्रमसँगै नयाँ सोचको निर्माण हुने बताउनु भएको हो।

तर, देशमा यसको अभ्यास शून्य रहेको उहाँ बताउनुहुन्छ। “कस्मेटिक राजनीतिले केही देखाउने, श्रृङ्गार, पटार गर्ने केही भयो होला । लोकतन्त्र छ नेपालमा भन्ने ठाउँ भयो होला।तर, अन्तर्यमा चाहिँ जुन किसिमको एउटा अभ्यास हुनुपर्ने हो, त्यतातिर हाम्रो गति शून्य मत्रै होइन विपरीत छ”, खनालले भन्नुभयो।

यस्तै बरालले नेताहरु संविधान अनुसार चल्नुपर्ने र जनमुखी काममा केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो। “नेताले संविधान अनुसार चल्ने, जनतालाई सुविधा दिने, संविधानको स्प्रिड र अक्षर अनुसार चल्ने। त्यसलाई संस्थागत गर्दै विकास गर्ने, देश निर्माण गर्ने, रोजगार छैन, रोजगारी सिर्जना गर्ने।तर, नेताहरु त्यसमा चुकेका छन्”, उहाँले तर देश विकासको काममा नेताहरु चुक्दै आएको बताउनुभयो।

यी कामबाहेक दल र नेता सत्ताको बाँडफाँडमा अल्झेको उहाँको भनाइ छ। “सबै सत्ता बाँडफाँडमा अल्झेका छन्, राजनीति विमुख भइरहेका छन्, यो खराब कुरा हो। गणतन्त्र आएको राम्रो कुरा हो”, बरालले भन्नुभयो।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।