• ७ वैशाख २०८१, शुक्रबार

सिनर्जी पावर डेभलपमेन्टद्वारा शैक्षिक सामग्री वितरण

blog

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले दोलखाद्वारा गौरीशङकर गाउँपालिका–८ भित्र रहेका विद्यालयका दुई सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, वैशाख १० गते । 
दोलखाको गौरीशङ्कर गाउँपालिका –८ भित्र रहेका विद्यालयका दुई सय जना विद्यार्थीलाई सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले शैक्षिक सामग्री वितरण गरेको छ ।

सिनर्जी हाइड्रोपावरका प्रतिनिधि यादव आचार्यले वडा भित्रका पाँच वटा विद्यालयका ती विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्कुल ब्याग, कापी, कलम, पोसाक र गणित प्रयोगात्मक सामग्री समेत वितरण गरेको जानकारी दिनुभयो ।

उहाँले आयोजनाले शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्‍याउँदै आएको योगदानबापत दक्ष जनशक्ति उत्पादन गरी सोही क्षेत्रमा स्वरोजगार बन्ने अवस्था सिर्जना गर्नुपर्ने स्थानीय तहको दायित्व रहेको बताउनुभयो ।

यसैगरी, गाउँपालिका अध्यक्ष विश्वास कार्कीले विद्यालयलाई शैक्षिक हबको रूपमा विकास गराई निजी विद्यालयसँग प्रतिस्पर्धा गरी विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

वडाध्यक्ष दावारिन्जी शेर्पाले वडा भित्रका विद्यालयको सम्पूर्ण जिम्मेवारी र दायित्व स्थानीय तहको रहेको र आफ्नो कार्यकाल भित्र कुनै प्रश्न गर्ने वातावरणको सिर्जना नगरी बालबालिका तथा अभिभावक मैत्री र शिक्षक मैत्री विद्यालय बनाउने योजना रहेको जानकारी दिनुभयो ।

विगतको तुलनामा वडा भित्रका विद्यालयले शैक्षिक गुणस्तरको क्षेत्रमा ठूलो फड्को मारेको र सिनर्जी हाइड्रोपावर जस्तै अन्य सङ्घसंस्थाबाट साथ र सहयोग पाएको खण्डमा अपेक्षा अनुरूप नतिजा हासिल गर्नसक्ने खारे माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रसिंह महतले बताउनुभयो  ।

सिनर्जी हाइड्रोपावर जस्तै अन्य संस्थाहरूसँग पनि समन्वय गरी विद्यालयको शिक्षा बाहेक अन्य अतिरिक्त क्रियाकलापलाई पनि पहिलो प्राथमिकतामा राखेर विद्यार्थीको चौतर्फी विकासका लागि आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने खारे मावि व्यवस्थापन समिति अध्यक्ष सानुराजा शेर्पाले बताउनुभयो ।