काठमाडौं, वैशाख ९ गते। काठमाडौं र ललितपुरमा शनिबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार काठमाडौँको चन्द्रगिरि नगरपालिका–१० सतुङ्गलमा बा ५ ख ७००४ नंको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई एउटा मोटरसाइकल सोही गाडीमुनि पर्दा मोटरसाइकल चालक पाल्पा तानसेन नगरपालिका–३ घर भएका २२ वर्षीय रसिक रामजालीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै आजै काठमाडौं महानगरपालिका–१४ स्थित सडकमा बाप्र–०२–०१९प ९७१ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक मकवानपुर थाहा नगरपालिका–७ घर भएका २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उता ललितपुर गोदावरी नगरपालिका–६ टिकाभैरवस्थित सडकमा सोही महानगरपालिका–५ मानभवन बस्ने ४० वर्षीय मनि गुरुङले चलाएको साइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा साइकलयात्री गुरुङको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस