• १३ पुस २०८१, शनिबार

कोरोनाबाट भेरी अस्पतालमा एकको मृत्यु

blog

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पताल । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, बैशाख ९ गते । कोरोना भाइरसको संक्रमणबाट करिब एक वर्षपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जनाको मृत्यु भएको छ । भेरी अस्पतालका निमित्त प्रमुख डा. राजन पाण्डेले दिनुभएको जानकारीअनुसार बाँके राप्तिसोनारी गाउँपालिका –२ का ८६ वर्षीय ज्येष्ठनागरिकको उपचारका क्रममा शनिवार मृत्यु भएको हो । 

डा. पाण्डेका अनुसार लामो समयदेखि कडा खालको दम रोगबाट पीडित उहाँलाई बैशाख १ गते परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि बैशाख ५ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको उहाँले बताउनुभयो ।  

उपचारकै क्रममा स्वास्थ्य समस्या बढ्दै गएपछि शनिवार उहाँको निधन भएको भेरी अस्पतालले जनाएको छ । लामो समयसम्म कोरोनाका विरामीहरु फेला नपरेको बाँकेमा पछिल्लो केही समययता भारतबाट रोजगारी गरेर फर्किनेहरुमा संक्रमण भेटिन थालेको छ । 

कोरोनाबाट जिल्लाका वासिन्दाको मृत्यु भएपछि नियन्त्रण अभियानलाई तिव्र पारिने बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । हालसम्म बाँकेका कोभिड संक्रमितको संख्या २१ हजार ४०० पुगेको छ । हालसम्म बाँकेमा ३५४ जनाको कोरोनाबाट मृत्यु भैसकेको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।