• २२ वैशाख २०८१, शनिबार

परियोजनाको प्रभावकारी कार्यान्वयनमा जोड

blog

काठमाडौँ, वैशाख ९ गते । एसियाली विकास बैङ्क (एडीबी)को सहायताअन्तर्गत परिचालित परियोजनाहरूको समयमै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । शुक्रबार आयोजित एडीबीको सहायतामा सञ्चालित परियोजनाहरूको समीक्षा कार्यक्रमका सहभागीले परियोजना सुरुवात, खरिद प्रक्रिया, भुक्तानीलगायत विभिन्न चरणमा समस्या कायमै रहेकाले यसको समाधान जरुरी रहेको बताएका छन् । 

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले विकास सहायताअन्तर्गत परिचालित परियोजनामा देखिएका समस्या समाधानमा मन्त्रालयले सबै किसिमबाट सहयोग गर्ने बताउनुभयो । नेपाली जनताको विकासको चाहना पूरा गर्न यस किसिमका परियोजनाको कार्यान्वयन, भुक्तानी र विकास खर्चमा सुधारका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । 

कार्यक्रमको उद्घाटन सत्रमा एडीबीका दक्षिण एसियाली महानिर्देशक केनिची योकोयामाले समयमै विकासको नतिजा दिन परियोजनाको सुधारिएको कार्यसम्पादन महत्वपूर्ण हुने बताउनुभयो । परियोजनाको कार्यान्वयनस्तर सुधार्न अर्थ मन्त्रालय सक्रिय रूपमा समस्या समाधानमा लागेको जानकारी उहाँले दिनुभयो । परियोजना कार्यान्वयनमा कुनै एउटा निकाय मात्र नभई सबैको समन्वयात्मक प्रयास जरुरी रहेको पनि उहाँले बताउनुभयो । नेपालको सन्दर्भमा वार्षिक ३५ करोड डलरदेखि ४५ करोड डलरसम्म भुक्तानी गर्ने लक्ष्यसहित काम हुनुपर्ने भनाइ उहाँको थियो । “सरकार र एडीबीको सामूहिक प्रयासमा अधिक भुक्तानी गर्न सम्भव छ,” उहाँले भन्नुभयो ।  

अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले परियोजनाहरूमा कम खर्च र भुक्तानी अहिलेको मुलुकका लागि समस्या भइरहेको बताउनुभयो । यस्तो समस्या समाधानका लागि मन्त्रालय र एडीबीबीचको सामूहिक छलफल उपयोगी हुने भनाइ उहाँको थियो । त्यस्तै उहाँले नेपालको विकासमा वित्तीय सहयोगको निरन्तरताका लागि पनि आग्रह गर्नुभयो । 

एडीबीको नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो कोस्वाँले सन् २०२२ मा नेपालमा सञ्चालित परियोजनाको कार्यक्षमता अपेक्षाभन्दा कम भएको जानकारी दिनुभयो । खासगरी परियोजनाका लागि पर्याप्त कर्मचारीको अभाव, सम्झौता व्यवस्थापनका चुनौती, जग्गा व्यवस्थापनमा ढिलाइ र निर्माण सामग्रीको आपूर्ति शृङ्खलामा भएको अवरोधले त्यस किसिमको अवस्था देखिएको उहाँले बताउनुभयो । समीक्षा कार्यक्रमले विद्यमान समस्या समाधानमा सहयोग पुग्ने उहाँको विश्वास थियो । 

सन् १९६९ देखि नेपालमा विकास साझेदारका रूपमा सहायता उपलब्ध गराइरहेको एडीबीले हालसम्म सात अर्ब ६० करोड डलर बराबरको वित्तीय र प्राविधिक सहयोग गरेको जनाएको छ । अहिले नेपालमा एडीबीको सहायतामा सञ्चालित तीन अर्ब २० करोड डलरका परियोजना सक्रिय छन् । एडीबीले मुख्य गरी ऊर्जा, यातायात, कृषि, खानेपानी तथा सहरी पूर्वाधारलगायतका क्षेत्रमा ऋण तथा अनुदान उपलब्ध गराइरहेको छ ।