बाबुराम देवकोटा
सिन्धुलीमाढी, वैशाख ९ गते । चौधौँ शताब्दीमा बनेको सिन्धुलीको ऐतिहासिक स्थल हरिहरपुरगढी अवलोकन गर्न आउनेको चहलपहल अहिले बढ्दै गएको छ। बागमती प्रदेश सरकारको सहयोगमा हरिहरपुरगढीमा खानेपानी, ट्रस्ट, गेस्टहाउस, वनभोज स्थल, प्रतीक्षालय, प्रवेशद्वार, सिँढीलगायतका भौतिक संरचना निर्माण भएपछि पर्यटकको चहलपहल बढेको हो।
हरिहरपुरगढी गाउँपालिका–१ मा रहेको हरिहरपुरगढीलाई संरक्षण गरी पर्यटक भित्र्याउने उद्देश्यले पाँच वर्षअघि गुरुयोजना नै बनाई संरक्षण र विकास गर्न थालिएको हरिहरपुरगढी संरक्षण समितिका अध्यक्ष कमलजङ्ग राईले जानकारी दिनुभयो। उहाँका अनुसार पूर्वाधार निर्माणका क्रममा हालसम्म डेढ करोड रुपियाँभन्दा बढी रकम खर्च भइसकेको छ।
राईले भन्नुभयो, “त्यहाँ सबैभन्दा बढी पानीको समस्या थियो। गढीको किल्लाभन्दा चार सय मिटर तल सौर्य प्रणालीबाट लिफ्ट गरी ल्याएपछि खानेपानीको समस्या समाधान भइसकेको छ। खानेपानीको समस्या हटेसँगै मानिसको चहलपहल बढ्दै गएको छ।” अहिले दैनिकजस्तो वनभोज खान र किल्लाको अवलोकन गर्न आउन थालेको पनि उहाँले सुनाउनुभयो।
संरक्षण समितिका अध्यक्ष राईका अनुसार हरिहरपुरगढी सिन्धुलीगढी पुरानो इतिहास बोकेको किल्ला हो। बाराको सिम्रौनगढमा बङ्गालका मुसलमानले आक्रमण गरेपछि सिम्रौनगढ राज्यको पतन भएसँगै बाराका तत्कालीन राजा हरिसिंह देव वि.सं. १३७८ मा सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए। त्यही किल्लाले राज्यको रूप लिएको थियो। यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भनेर भन्न थालियो। हरिहरपुरगढीका किल्ला अहिले पनि पुरानो स्वरूपमा जस्ताको तस्तै रहेको छ।
“हरिहरपुरगढीको जस्तो बनोट र संरचना नेपालमा अन्यत्र कहीँ छैन। नेपालबाहेक भारत र रुसमा एक/एक ठाउँमा छ। वास्तुकलाअनुसार बनेको यो स्थानको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने लक्ष्य छ,” संरक्षण समितिका अध्यक्ष राईले भन्नुभयो।
हरिहरपुरगढीलाई संरक्षण र विकास गर्न चासो दिँदै गाउँपालिकाले १५ लाख रुपियाँ सहयोग गरेको छ। जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा ऐतिहासिक र पुरातात्त्विक महत्व बोकेको यस किल्लाको संरक्षणमा ध्यान नपुग्दा ओझेलमा परेकोमा अहिले संरक्षणमा सबैले चासो दिन थालेको बताउनुहुन्छ। “हरिहरपुरगढीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत बनाउने लक्ष्य छ,” लामाले भन्नुभयो। उहाँका अनुसार गाउँपालिकाले गढी किल्लाको बाहिरी संरचना मर्मत गरेको छ भने पुरातत्व विभागले भित्री संरचनाको संरक्षणमा चासो दिएको छ।
ऐतिहासिक स्थल हरिहरपुरगढी, कुण्ड, पोखरी र लसुन पोखरीजस्ता पर्यटकीय क्षेत्र यहीँ पर्छन्। मदन भण्डारी लोकमार्गबाट आठ किलोमिटरको दूरीमा रहेको हरिहरपुरगढीसम्म पुग्ने सडक कालोपत्रे भएमा आवतजावतमा सुविधा भई चहलपहल अझ वृद्धि हुने स्थानीय दिलबहादुर घलानले बताउनुभयो।