कबिराज घिमिरे
हिले, बैशाख ८ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका १ को मनमाया दर्जीले ६९ बर्षको उमेरमा नागरिकता लिनुभएको छ । शारीरिक रुपमा अपाङ्गता भएका दर्जी कार्यालयमा आएर नागरिकता लिन नसक्ने भएकाले जिल्ला प्रशासन कार्यालय धनकुटाले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
नागरिकता बितरणका लागि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित जिल्ला प्रशासन कार्यालय धनकुटाको टोली शुक्रबार उहाँको घर पुगेको थियो । २०१० सालमा जन्मनुभएकी दर्जीलाई घरमै पुगेर प्रमुख जिल्ला अधिकारी गौतमले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो ।
आर्थिक रुपमा विपन्न दर्जी हिडडुल गर्न, बोल्न र आखाँ नदेख्ने अबस्थामा भएका कारण अहिलेसम्म नागरिकताबिहिन हुनुहुन्थ्यो । नेपाली नागरिकताको प्रमाणपत्र नबन्दा उहाँ लामो समयदेखि सामाजिक सुरक्षा भत्ता लिनबाट वञ्चित हुँदैआउनुभएको थियो । उहाँलाई अब सामाजिक सुरक्षा भत्ता लिने बाटो फुकेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।
“कतिपय अवस्थामा अपाङ्गता भएका व्यक्तिलाई परिवारले नागरिकता बनाउन प्रशासन कार्यालयसम्म ल्याउन सक्दैनन्, त्यस्ता नागरिक नागरिकताविहीन हुने र उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुनुपर्ने अवस्था आएकाले उनीहरुलाई राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुन नपरोस् भनेर घरमै पुगेर नागरिकता वितरण गरिएको हो” प्रजिअ गौतमले भन्नुभयो ।
दर्जीलाई नगरिकता प्रदान गर्न प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित प्रशासकीय अधिकृत अंकित मंग्राती, वडाध्यक्ष गोविन्द लिम्बु, पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास, जिल्ला प्रशान कार्यालयका कर्मचारीलगायतको उपस्थिति थियो ।