• ४ जेठ २०८१, शुक्रबार

आचारसंहिता उल्लङ्घन

blog

कलैया समाचारदाता 

बारा, वैशाख ७ गते । प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारहरूबाट व्यापक रूपमा आचारसंहिता उल्लङ्घन भइरहेको छ । आयोगले तोकेको मापदण्डविपरीत प्रचारप्रसारलगायतमा आचारसंहिता व्यापक मात्रामा उल्लङ्घन भएको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताउनुभयो । बाराको निर्वाचन क्षेत्र नं. २ मा हुने उपचुनावमा विभिन्न दल तथा उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन भएको उहाँले बताउनुभयो । 

निर्वाचन आयोगबाट आएको तीन जनाको टोलीले बुधबार महागढीमाई नगरपालिका–५ र ६ मा अनुगमन गर्दा नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका उम्मेदवारले आचारसंहिताविपरीत गतिविधि गरेको पाइएको सहसचिव भट्टराईले भन्नुभयो ।

यसैगरी निर्वाचन क्षेत्रको मुख्य सडकमा आचारसंहिता मापदण्डविपरीत प्रचारप्रसारका सामग्री देखिएपछि करिब चार÷पाँच किलोमिटरको तुल, ब्यानर हटाइएको निर्वाचन अनुगमन समितिका सदस्यसचिव एवं आचारसंहिता अनुगमन अधिकृत हरिकृष्ण बरालले बताउनुभयो । आचारसंहिता उल्लङ्घनको सिलसिला प्रतिस्पर्धात्मक रूपमा जारी रहे पनि त्यसलाई रोक्न निर्वाचन अनुगमन समिति प्रयासरत रहेको उहाँले स्पष्ट गर्नुभयो । मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधिसमेत रहेका विभिन्न दलका केन्द्रीय अध्यक्षसहित नेतादेखि कार्यकर्ता आफ्ना उम्मेदवार जिताउन आचारसंहिता उल्लङ्घन गर्दै चुनावी प्रचारप्रसारमा सक्रिय देखिएका छन् ।

यस क्षेत्रमा रहेका मन्दिर, मस्जिद, विद्यालय, हाटबजार, मुख्य सडक, चोक, चौतारा, विद्यालय, स्वास्थ्य केन्द्र र मतदान स्थलजस्ता ठाउँमा समेत व्यापक मात्रामा पोस्टर, पम्प्लेट, तुल, ब्यानर, झन्डा लगाइएको छ । आचारसंहिता मापदण्डविपरीतका प्रचार सामग्री प्रयोग, सामाजिक सञ्जाल फेसबुक, चुनावी सभालगायतमा भइरहेको आचारसंहिता उल्लङ्घनका बारेमा कारबाहीका लागि विभिन्न तहबाट अनुगमन निरीक्षण गर्नुका साथै सूक्ष्म रूपले अनुगमन भइरहेको जिल्ला सुरक्षा समन्वय समितिका संयोजक तथा निर्वाचन अनुगमन अधिकृत एवं प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।