• ४ जेठ २०८१, शुक्रबार

कृषि क्याम्पस खोल्न प्रधानमन्त्री सकारात्मक

blog

सर्लाही समाचारदाता

सर्लाही, वैशाख ७ गते । लालबन्दी नगरपालिकामा कृषि क्याम्पस स्थापनाका लागि सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आग्रह गरिएको छ । 

लालबन्दीका नगरप्रमुख वासुदेव अधिकारीको नेतृत्वमा सङ्घीय राजधानी काठमाडौँ पुगेको जनप्रतिनिधिसहितको टोलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष कृषि क्याम्पस स्थापनाका लागि आग्रह गरेको हो । काभे्रको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरी लालबन्दीमा कृषि क्याम्पस स्थापनाका लागि पहल जारी छ ।

त्यसैअन्तर्गत आवश्यक सहयोग तथा समन्वयका लागि प्रधानमन्त्रीसहित नेपाल सरकारका अन्य उच्च अधिकारीसँग भेट गर्न नगरप्रमुखसहितको टोली काठमाडौँ पुगेको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले कृषि क्याम्पस खोल्ने कुरामा सकारात्मक प्रतिक्रिया जनाउँदै आवश्यक सहयोग गर्न सम्बद्ध निकायमा निर्देशन दिने प्रतिबद्धता जनाउनुभएको लालबन्दी नगरपालिकाका प्रवक्ता एवं वडा नं. १६ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डसँग लालबन्दी बजारबाट नारायणखोला हुँदै सिन्धुलीको दुम्जासम्म निस्कने सडक निर्माणका लागि समेत आग्रह गरिएको छ । लालबन्दी नगरपालिकाले वडा नं. १६, परवानीपुर क्षेत्रमा कृषि क्याम्पस स्थापना गर्ने सोचका साथ पहल गरिरहेको छ । 

डिम जनता माध्यमिक विद्यालय परवानीपुरको नाममा रहेको छ बिघा जग्गामा कृषि क्याम्पस स्थापना गर्ने तयारी गरिए पनि काठमाडौँ विश्वविद्यालयले त्यति जग्गा मात्रै अपर्याप्त हुने बताएपछि नेपाल सरकारमार्फत थप जग्गा प्राप्ति तथा अन्य साथसहयोग जुटाउन भन्दै जनप्रतिनिधिको टोली काठमाडौँ पुगेको हो ।