• १३ मंसिर २०८१, बिहिबार

सवारी दुर्घटनामा भारतीय नागरिक घाइते

blog

राममणि दाहाल

हेटौँडा, वैशाख ६ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका –१५ स्थित सडकखण्डको रातोमाटे नयाँबस्ती चोकमा सवारी दुर्घटनामा परी चार जना भारतीय नागरिक घाइते भएका छन् ।

बुधबार दिउँसो बारा जिल्लाबाट हेटौँडा बजारतर्फ आउँदैगरेको ना ५ ख ८५६२ नम्बरको जिप्सन लोड गरेको ट्रकले विपरीत दिशाबाट जाँदैगरेको टीएस ०९ एफएक्स ३१७७ नम्बरको भारतीय कारलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार कारमा सवार भारतको आन्ध्र प्रदेश तेनालीका ७० वर्षीय साहिबाबु, हैदाराबादका ३८ वर्षीय राजेश एलीगल्ला, ७६ वर्षीय सुरेन्द्र नारल्ला र कार चालक कृष्ण नारल्ला घाइते हुनुभएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले घाइते चारै जनालाई हेटौँडा अस्पतालमा उपचारका लागि पठाइएको जानकारी दिनुभयो । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।