• १३ असोज २०८१, आइतबार

संवैधानिक निकाय ‘रिटायर्डको क्लब’ जस्ता भए : सांसद् सापकोटा

blog

प्रतिनिधि सभाका सांसद माधव सापकोटा ।

काठमाडौं, वैशाख ६ गते । प्रतिनिधि सभाका सांसद माधव सापकोटाले संवैधानिक निकायलाई ‘रिटायर्डको क्लब’ जस्तो बनाउनु नहुने टिप्पणी गर्नुभएको छ । सांसद सापकोटाले अख्तियार प्रयोग गरेका वा लाभका पदमा बसेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लैजाने काम गर्नै नहुने प्रस्तावसमेत गर्नुभयो । 

बुधबार प्रतिनिधिसभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले त्यस्ता व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेकै कारण मुलुकमा भ्रष्टाचार नियन्त्रणमा कमी आउन नसकेको तर्कसमेत गर्नुभयो। 

लाभको पदमा नपुगेका, कुनै पनि खालको अख्तियार नपाए विज्ञलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएमात्रै मुलुकमा विद्यमान भ्रष्टाचारसम्बन्धी समस्या समाधान हुने सांसद सापकोटाको भनाइ थियो। 

उहाँले भन्नुभयो, ‘‘हाम्रा संवैधानिक निकाय रिटायर्डको क्लबजस्तो भएका छन् । यहाँ गएर शक्ति प्रदर्शन गर्ने, आराम गर्ने थलोजस्तो भएको छ । अख्तियार प्रयोग गरेका वा लाभका पदमा बसेका मानिस अख्तियारमा गएर बस्नु हुँदैन । कुनै पनि पटक लाभको पदमा पुगेका वा अख्तियारी प्रयोग गरेका त्यहाँ जानु भएको छ । त्यसले कुनै न कुनै रूपमा प्रभावित तुल्याउँछ । यस्ता ठाउँमा नागरिकहरू जानुपर्‍यो, एक पटक पनि जिन्दगीमा लाभको पद नलिएको, अख्तियार प्रयोग नगरेको र विज्ञको रूपमा विकसित भएको मानिसलाई छानियो भने मात्रै यी समस्याको हल गर्न सकिन्छ । ठूला नेतालाई धारे हात लगाएर मात्रै यो कुराको समस्या समाधान गर्न सकिँदैन ।’’

सांसद सापकोटाले ठूला नेतालाई धारे हात लगाउने भन्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त व्यक्तिलाई पठाउने कुरामा ध्यान दिनुपर्ने पनि उल्लेख गर्नुभयो ।