अविनाश चौधरी
धनगढी, वैशाख ६ गते । कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब नपाएको बताएका छन् । कर्मचारी समायोजन ऐन २०७५ र कर्मचारीहरूको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम भजनी नगरपालिकाको लिखित सहमतिको आधारमा समायोजन संशोधन र समायोजन मिलान भई विभिन्न तहमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन ।
निरन्तर सेवामा खटिरहँदा पनि संविधानले दिएको अधिकार र अन्तर्राष्ट्रिय श्रम ऐनले तोकेबमोजिम तलब, भत्ता तीन महिनादेखि नपाउँदा पारिवारिक अवस्था दयनीय बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । दैनिक घर खर्च, बालबच्चाको पढाइ खर्च जुटाउन समस्या भएको उनीहरूको भनाइ छ ।
तीन महिनादेखि तलब नपाएपछि सो नगरपालिकामा कार्यरत ४० जना स्वास्थ्यकर्मीले नगर प्रमुख केवल चौधरीलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् । यसैगरी, यथाशीघ्र तलब, भत्ता माग गर्दै दबाबस्वरुप विरोधका कार्यक्रमसमेत अगाडि बढाएका छन् ।
विरोधस्वरुप हातमा कालोपट्टी बाँधेर काम गरिरहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र धनौरामा कार्यरत अहेब लक्ष्मीप्रसाद जोशीले बताउनुभयो । स्वास्थ्यकर्मीहरुले वैशाख ८ गतेसम्म कालोपट्टी बाँधेर काम गर्ने, माग सम्बोधन नभए १० गतेदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
यसैगरी, मासिक रूपमा पेस गर्नुपर्ने प्रतिवेदन पेस नगर्ने, दैनिक रूपमा नगरपालिकामा हाजिर भएर धर्ना दिने जनाएका छन् । मागप्रति बेवास्ता गरिए आन्दोलनका थप कार्यक्रम अगाडि सार्ने उनीहरूको चेतावनी छ ।
स्वास्थ्यकर्मीले चालु आर्थिक वर्षको बाँकी तलब यथाशीघ्र व्यवस्थापन गर्नुपर्ने साथै आगामी आर्थिक वर्ष २०८०–८१ का लागि सङ्घीय सरकारबाट बजेट व्यवस्था भई नआएसम्म मासिक रूपमा स्थानीय तहले नै तलब भुक्तानीको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् ।
यस्तै, समायोजन र समायोजन मिलान भएर भजनी नगरपालिकामा हाजिर भई विगत लामो समयसम्म पदस्थापन नगरिएका स्थायी स्वास्थ्यकर्मीलाई हाल कार्यरत स्वास्थ्य संस्थामा दरबन्दी स्वीकृत गरी पदस्थापन गर्नुपर्ने माग राखेका छन् ।
यसैगरी, नगरपालिकाका अन्य कर्मचारीसरह सबै स्वास्थ्यकर्मीलाई इन्धनलगायतका अन्य प्रोत्साहन सुविधा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । प्रत्येक आधारभूत स्वास्थ्य केन्द्रहरूमा दुई–दुई जनाको दरले पारामेडिक्स र नर्सिङ कर्मचारीको अनिवार्य व्यवस्था गर्नुपर्ने लगायतका माग अगाडि सारिएको छ ।