• १३ मंसिर २०८१, बिहिबार

बैङ्कमा जम्मा भएको ५५ खर्ब रकमलाई उद्योगमा परिचालन गरौँ : सांसद पौडेल

blog

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेल ।

काठमाडौं, वैशाख ५ गते। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैङ्कमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरेर रोजगारी सिर्जना गर्न माग गर्नुभएको छ। 

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैङ्कमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो रकम देशका रुग्ण उद्योगमा परिचालन गर्नुपर्ने बताउनुभएको हो। 

उहाँले अफ्ठेरोमा परेका उद्योगमा सो रकम परिचालन गरेर रोजगारी सिर्जना गर्न माग गर्नुभयो। त्यस्तै उहाँले देशमा ४० लाख खोप प्रयोगविहीन अवस्थामा रहेको भन्दै प्रयोगविहीन भएको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘बैङ्कमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ। खुसीको कुरा हो। ५५ खर्ब रकम भनेको नेपाल सरकारले औसत तीन पटक प्रस्तुत गर्ने बराबरको बजेट हो। त्यो रकम बैङ्कमा जम्मा भएर बसेको छ। त्यो रकमलाई छिट्टै देशका रुग्ण भएका, अप्ठ्यारोमा परेका उद्योगलाई परिचालन गरेर रोजगार सिर्जना गर्ने गरी प्रधानमन्त्रीले गरेका घोषणा अनुसार अगाडि बढाइयोस्। त्यसै गरी किसानले पनि समयमै कृषि प्रक्रिया सुरुवात गर्नुभन्दा पहिला मल प्राप्त गर्ने र राज्यको तर्फबाट यस प्रकारका अत्यावश्यक वस्तुको व्यवस्थापन भएको कुरा खुसी साथ बाहिर आओस्।’’

सांसद पौडेलले यस वर्ष विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउनु राम्रो भएको उल्लेख गर्दै यसैगरी अस्पतालमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताउनुभयो। उहाँले किसानले समयमै मल पाउनुपर्ने पनि बताउनुभयो।