• १२ मंसिर २०८१, बुधबार

धमिलो पानी पिउन बाध्य

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख ४ गते । कर्णाली नदी किनारमा बस्ती तथा बजारवासीले कर्णाली नदी तथा अन्य खोलाका धमिलो र फोहोर पानी पिउन बाध्य छन्। खासगरी बाजुराको पिलुदेखि हुम्ला खार्पुनाथसम्मका कर्णाली किनार बासिन्दाले यो वर्षौंदेखि यो समस्या भोग्दै आएका छन्। बाजुराको पिलु बजारका व्यापारी रत्नकुमारी सिंहले खानेपानीको व्यवस्था नभएका कारण कोल्टी खोलाको फोहोर पानी प्रयोग गरिरहेको बताउनुभयो। उहाँका अनुसार हिउँदमा खोलाको पानी ठिकै भए पनि वर्षायाममा बालुवा र लेदो पानी छानेर प्रयोग गर्नुपर्ने अवस्था छ। खानेपानीको व्यवस्थाका लागि बूढीनन्दा नगरपालिकालाई आग्रह गर्दा माग सम्बोधन नभएका कारण खोलाको पानी स्थानीयले वर्षौंदेखि प्रयोग गर्नु परिरहेको गुनासो रत्नकुमारीको छ।

बाजुरा र हुम्ला जिल्लाको सिमाना कवाडी बजारका स्थानीयको समस्या पनि उस्तै छ। दुवै जिल्लाका कवाडी खोला वारिपारि बस्ने र  प्रहरीले पनि खोलाकै पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। कवाडीको हुम्ला खण्डमा होटेल सञ्चालन गर्दै आएका  वीरबाने थापाले खोलाको पानीकै भर पर्नुपर्ने अवस्था रहेको बताउनुभयो। खोलाको पानीमा फोहोर हुने भएकाले कपडाले छानेर प्रयोग गर्ने गरेको थापाले बताउनुभयो। बाजुरातर्फ पर्ने कवाडीका स्थानीयले हिमाली गाउँपालिका र हुम्लातर्फ बस्ने स्थानीय ताँजाकोट गाउँपालिकासँग खानेपानीको माग गर्दै आएका छन्। यद्यपि हालसम्म खानेपानीको योजना पाएका छैनन्।