• १४ पुस २०८१, आइतबार

संरक्षणको पर्खाइमा कमलपोखरी

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, वैशाख ४ गते ।  देशभर कृत्रिम पोखरी र ताल बनाएर जबरजस्ती पर्यटक तान्ने होडबाजी चलिरेहको छ तर मोरङको सुनवर्षी नगरपलिका–१, केचनाको ऐतिहासिक कमलपोखरी भने संरक्षणको अभावमा सुकेको छ। अहिले सुकेको पोखरीमा गाईभैँसी चरिरहेका छन्। 

वैकल्पिक पानीको स्रोत जुटाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले बजेट व्यवस्थापन नगर्दा पोखरीमा चलाउन भनेर किनेर ल्याइएका बोट (डुङ्गा)हरू थन्किएका छन्। सडक र बाटोघाटोले सुगम स्थलमा रहेको प्राकृतिक कमलपोखरी क्षेत्र आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि स्थानीय सरकारको चासो र सरोकार नहुँदा गुमनाम झैँ बनेको छ।  

पोखरी महेन्द्र राजमार्गदेखि १३ किमि दक्षिण र रङ्गेली–विराटनगर सडकखण्डको रङ्गेली बजारबाट करिब १३ किमि उत्तरमा छ। पोखरीमा अत्यन्तै दुर्लभ प्रजातिको कमलको फूल फुल्ने गर्छ।  बाह्रै महिना पानी नसुक्ने पोखरी स्थानीयवासीको अतिक्रमण भएपछि सुकेको छ। यस पोखरीको मुख्य विशेषता नै धेरै रङका कमलका फूल पाइनु हो। पानी भएको बेला पोखरीमा रातो, नीलो र सेतो रङका फूल पाइन्छन्, स्थानीय ज्ञानबहादुर बस्नेतले भन्नुभयो। उहाँका अनुसार पोखरीमा विभिन्न प्रजातिका माछा, कछुवा, जलकुखुरा, हाँस र अन्य जलचर प्राणी देख्न सकिन्थ्यो। साँझपख टाढाटाढाबाट चरासमेत पोखरी किनारको रुखमा बास बस्न आउने गरेका छन्। 

करिब नौ बिघा क्षेत्रफलमा फैलिएको पोखरीको बीचमा शिवालय मन्दिर रहेको छ। छेउ–छाउमा किरातहरूको साकेला थान र किरातेश्वर मन्दिर, हिन्दुहरूको हनुमान, राम मन्दिरलगायतका  देवालय छन्। पोखरीको वरिपरि विभिन्न प्रजातिका बोटबिरुवासमेत छन्। किंवदन्तीअनुसार आदिकालमा पृथ्वीबाट नै जल प्रलय भएर निरन्तर पानी उम्रिएर पोखरी निर्माण भएको हो। पोखरीको बीचमा भारतको प्रसिद्ध धार्मिक तीर्थस्थल नर्वदाबाट शिव लिङ्ग ल्याई जलेश्वर महादेवको मन्दिर स्थापना गरिएको छ। 

सुनवर्षी नगरपालिकाका प्रमुख श्यामकुमार राजवंशीले कमलपोखरी स्थानीय मङ्गलसिंह माध्यमिक विद्यालयले संरक्षण गर्ने जिम्मा लिएको बताउनुभयो। नगरले पोखरी संरक्षणका लागि डीपीआरसमेत तयार गरिसकेको बताउँदै उहाँले विद्यालयसँग समन्वय गरेर पोखरीको संरक्षण कार्य अघि बढाइने उल्लेख गर्नुभयो।