• १३ असोज २०८१, आइतबार

सेती नदीको जोखिम क्षेत्रमा तारबारको व्यवस्था गर्न माग

blog

नेकपा (एमाले) सांसद विद्या भट्टराई । फाइल तस्बिर

काठमाडौं, वैशाख ३ गते। नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तरबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नुभएको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले (शनिबार) पनि सेती नदीको खोचमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको दु:खद् घटनाबारे संसदमा जानकारी गराउँदै त्यहाँको जोखिम क्षेत्रमा तरबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो। त्यसका लागि सरकारले विज्ञले दिएको सुझाव अनुसार त्यहाँको सुख्खा पहिरो नियन्त्रणका लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने उहाँको भनाइ थियो। 

सांसद भट्टराईले भूगर्भविद्ले सेती नदीको कारण ठूलै क्षति हुनसक्ने औँल्याएको उल्लेख गर्दै सरकारले उनीहरूले दिएको सुझाव अनुसार त्यसको संरक्षणमा लाग्नुपर्ने पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘हिजो पोखरामा दुःखद घटना घटेको छ। सेती नदी पोखराको सुन्दरता हो। यसको खोँचमा धेरै नागरिकको जीवनको क्षति भएको छ। हिजो ३ बजेतिर सिताराम हाउजिङ नजिकै स्मृति पराजुलीको सेती खोचमा परेर उहाँले आफ्नो जीवन गुमाउनु परेको छ। म १२ वर्षीया स्मृति पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँको आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। धेरै पटक सेती नदीलाई संरक्षण गर्नका लागि योजना बनाउनुपर्छ भनेर संसदमा पटक पटक आवाज उठाइको छ।’’

खास गरी पोखराका भूगर्भविद्हरूले अध्ययन गर्दा सेती नदीले भोलि जुनसुकै खालका दुर्घटना पुर्‍याउन सक्ने खतरा छ भन्ने ध्यानाकर्षण समेत सरकारलाई गराउनुभएको छ। सांसद भट्टराईले सरकारले विगतमा पनि आफूले सो नदीको संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।