• १२ मंसिर २०८१, बुधबार

किसानलाई आलु रोप्ने चटारो

blog

दुल्लु समाचारदाता

दुल्लु दैलेख, वैशाख २ गते । दैलेखमा आलुको पकेट क्षेत्र मानिने गुराँस गाउँपालिकाका तरकारी किसानलाई आलु रोप्ने चटारो बढेको छ । यहाँका किसानहरू अहिले बारीमा आलु रोप्न व्यस्त देखिन्छन् । कोही मल बोक्दै, कोही डल्ला फोर्दै, कोही जोत्दै त कोही बिउ लगाउँदै गर्दा किसानलाई फुर्सद छैन । 

मध्य चैतमा वर्षा भएपछि किसानलाई आलु लगाउन सहज भएको छ । आकाशेपानीको भरमा तरकारी खेती गर्ने किसानलाई आकाश वर्षापछि उत्साहित हुँदै आलु लगाइरहेको किसान रेशमप्रसाद ढकालले बताउनुभयो । यस क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत आलुलगायतको तरकारी खेती हो । प्रदेश राजधानी सुर्खेतसँग सीमा जोडिएको हुँदा यहाँ तरकारी बिक्रीलाई कुनै समस्या छैन । उहाँले मौसमले साथ दिएमा तरकारी मनग्गे उत्पादन गर्न सकिने बताउनुभयो । 

तरकारी उत्पादन हुनसके बजारको अभाव छैन् । यहाँको तरकारीको बजार नेपालगञ्ज हँुदै रुपैडिहासम्म पुग्ने गर्दछ तर पछिल्लो समयमा मौसममा आएको परिवर्तनले उत्पादन प्रभावित भएको अनुभव अर्का किसान झुपा बुढाले गर्नुभएको छ । एकातिर मौसम र अर्कोतिर 

मूल्य स्थिर नहुँदा श्रमअनुसारको उत्पादनले मूल्य नपाएको उहाँले गुनासो गर्नुभयो । तरकारीको हब नै मानिने गुराँसे क्षेत्रको जीविकोपार्जनको आधारशीला रहेको तरकारी खेतीलाई प्रवद्र्धन गर्न सङ्घीय सरकारले गुराँस गाउँपालिकाका वडा नं. ३ देखि ८ वडासम्म आलु जोन कार्यक्रम लागू गरेको छ । 

गत आवदेखि ताजा तरकारी र आलु खेती प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनमा छ । गत आवदेखि चारवटा पकेट क्षेत्रमा गरी ३५० हेक्टर क्षेत्रफलमा ताजा तरकारी तथा आलु खेती प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ । 

गुराँस गाउँपालिका कृषि विकास शाखा प्रमुख पूर्णबहादुर खड्काले चालु आवमा समूहमा आबद्ध भएका किसानको मागको 

आधारमा चार सय क्विन्टल डेजिरे र कार्डिरे जातको आलुको बिउ समूह, सहकारी र दर्ता भएको कृषि फर्मलाई बिउ उपलब्ध गराएको बताउनुभयो । 

जसमा पालिकाले दुई हजार छ सय किसानलाई सूचीकृत गरेको छ । वार्षिक रूपमा करिब २० करोड बराबरको आलु र ताजा तरकारी गुराँस गाउँपालिकाबाट निर्यात हुने गरेको छ । गत आवमा १९ हजार मेट्रिक टन आलु गुराँस गाउँपालिकाबाट निर्यात गरिएको थियो ।