• १५ वैशाख २०८१, शनिबार

हाम्रो सम्पदा

गौतम बुद्धले महायात्रा सुरु गरेकाे पूर्वीद्वार (फोटो फिचर)

blog

तिलौराकोट, वैशाख २ गते । कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोट दरबार जहाँ गौतम बुद्धले २९ वर्ष युवा काल बिताएका थिए। यस तिलौराकोटमा ४ वटा द्वार रहेका छन्। पूर्वीद्वार , पश्चिमद्वार, उत्तरीद्वार  र दक्षिणीद्वार । हाल चलनमा आएको प्रमुखद्धारको रूपमा पश्चिमद्वार  रहेको छ। जहाँबाट पर्यटकहरू, बौद्धधर्मावलम्बीहरु, भक्तजनहरू आदि प्रवेश गर्दछन्।

२९ वर्षको उमेरमा सिद्धार्थ गौतमले ज्ञान प्राप्तिको महायात्रा सुरु गर्न उनका परिवार र राजकीय सम्बन्ध परित्याग गरी यस दरबारको पूर्वार्द्ध अर्थात् महाभिनिष्क्रमण द्वारको नामले प्रसिद्ध यस द्वारबाट गौतम बुद्धले कपिलवस्तुबाट सांसारिक जीवन त्याग गरी प्रस्थान गरेका थिए।

यो द्वार र यसका दुवैतर्फ फैलिएको इँटाबाट निर्मित नगरको किल्लाका पर्खालहरूको उत्खनन चाहिँ सन् १९६० मा गरिएको इतिहास छ । विभिन्न उत्खननहरूबाट पश्चिमी द्वार  र यसको दक्षिणी भागमा रहेका थुप्रै संरचनाहरू, सम्भवतः पसलहरू, जस्तै यहाँ पनि गिटीको प्रयोग नभएका सडकहरू फेला पारिएको थियो। साना र गहिरा खाडलहरू भित्र अध्ययन टोलीले संरचनाहरूको आधारभूत मञ्च पर्खालका जगहरू र काठको स्तम्भ गाड्नका लागि जमिनमा खनिएका खाल्डाहरू पत्ता लगाएका थिए। यसबाट माथि उल्लेखित इँटाहरूको संरचनासँग मिल्ने गरी उही ढङ्गले पहिला पनि निर्माण कार्य हुने गर्दथ्यो भन्ने देखाएको छ। यी तथ्यहरूले तिलौराकोट कपिलवस्तुको नगरी योजना यसको सुरुवाती कालदेखि अन्त्यसम्म पनि निरन्तर रहेको सङ्केत गरेको छ ।

अहिले यस स्थलका विभिन्न भागहरूमा जमिनको ठिक मुनि र माथि देख्न सकिने इँटायुक्त वास्तुकलाले बुद्धको जीवनकालमा प्रचलित माटो र काठको वास्तुकलालाई प्रतिस्थापित गरेको देखाउन पनि यसले मद्दत गर्दछ। उत्खननबाट १९ फिट चौडा बाटो, दायाँ, बायाँ बुर्जा जस्ता वास्तु अवशेषका साथै माटाका मानव र जनावरका प्रतिमाहरू, मुद्राहरू, माला, गुटिका, चुरा र ब्राह्मी अभिलेख युक्त मोहर छाप समेत प्राप्त भएका छन्।

हाल उक्त पूर्विद्वारमा जानको लागि काठको बाटो बनाइएको छ भने पूर्विद्वारको दायाँ र बायाँ दुई वटा ठुला रुखहरू रहेका छन्। यही रुखको अर्थात् पूर्विद्वारको अगाडी पनि उत्खनन कार्य हुन थालेको छ।