• १३ मंसिर २०८१, बिहिबार

कार्य सम्पादनमा तिलोत्तमा नगरपालिका उत्कृष्ट

blog

रुपन्देहीको शंकरपुरमा रहेको नगरपालिकाको कार्यालय । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत ३० गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यसम्पादन उत्कृष्ट ठहरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन प्रतिवेदनअनुसार नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । 

हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–७९ को स्थानीय तहको संस्थागत प्रतिवेदनअनुसार सो नतिजा आएको हो ।

वार्षिक बजेट तथा योजना व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वित्तीय एवं आर्थिक व्यवस्थापन, भौतिक पूर्वाधार र सामाजिक समवेशीकरण गरी आठ वटा विधाका छुट्टाछुट्टै सूचक मूल्याङ्कनमा तिलोत्तमा नगरपालिका देशभरका पालिकाहरु मध्ये चौथो स्थान र लुम्बिनी प्रदेशमा प्रथम हुन सफल भएको छ । 

‘नगरलाई मुलुककै उत्कृष्ट, नमूना नगरपालिका बनाउने अभियानमा निरन्तर क्रियाशील रहेका छौँ, राम्रो नतिजा आएको छ, अझै राम्रो गर्नेछौँ’ उहाले भन्नुभयो । अहिलेको प्राप्त उपलब्धीले तिलोत्तमा नगरपालिकालाई राष्ट्रव्यापी बनाएको आफ्नो पहिचानमा थप टेवा गरेको नगरप्रमुख खाणको दाबी छ ।

गत आर्थिक वर्षमा स्वमूल्याङ्कन प्रतिवेदनमा तिलोत्तमा नगरपालिकाले ९५ दशमलव ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो । भौतिक तथा सामाजिक विकासका क्षेत्रमा काम गरिरहेको उहाँको भनाइ छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दैआइरहेको छ ।  

नगरपालिकाले हरियाली तथा सरसफाइ अभियान, सुर्तीजन्य पदार्थ गुड्खा बेचबिखनमा रोक, नो हर्न अभियानलगायतका रचनात्मक अभियान चलाइरहेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।