• १२ मंसिर २०८१, बुधबार

हुम्ला अस्पतालमा आइपुग्यो औषधि

blog

अस्पतालमा आइपुगेको औषधि भण्डारण कक्षमा । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, चैत ३० गते । जिल्ला अस्पतालमा बिरामीको उपचारका लागि अभाव भइरहेका बेला हवाई मार्गबाट औषधि आइपुगेको छ । चालु आर्थिक वर्षका लागि कर्णाली प्रदेशका दश वटै जिल्लामा औषधि खरिद गरेर ढुवानी गर्ने जिम्मा लिएको प्रदेश स्वास्थ्य औषधि ब्यवस्थान केन्द्रले औषधि पठाएपछि तत्कालका लागि जिल्ला अस्पतालमा अत्यावश्यक औषधि आइपुगेको हो । 

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिहंले लामो समयदेखि अस्पतालमा औषधि अभाव रहँदैआएकोमा केन्द्रले हवाई मार्गबाट औषधि ढुवानी गरेर पठाएको छ । गत दुई महिनादेखि अस्पतालमा औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या हुँदैआएको थियो । 

उहाँले तत्कालका लागि ३१ प्याकेट २२ प्रकारका अत्याबश्यक औषधि आएकाले उपचारमा सहज भएको बताउनुभयो । हाल जिल्लामा हवाई उडानहरु सीमित हुने भएका कारण स्थानीय प्रशासनको समन्वयमा नीजि एयरलाइनबाट औषधि ढुवानी गर्न सफल भएको बताउनुुभयो । 

अस्पतालबाट केन्द्रका लागि औषधि पठाई दिन पटक पटक ताकेता गर्दा बल्ल केही औषधि आएको र अब बाँकी औषधि पनि केन्द्रले चाँडै पठाउने प्रतिबद्धता ब्यक्त गरेको उहाँले बताउनुभयो । यसअघि अस्पतालका लागि जिल्लामै औषधि खरिद तथा ढुवानीको बजेट ब्यवस्था हुनेगरेको भए पनि यस वर्ष केन्द्रले कर्णालीका दश वटै जिल्लाका औषधि खरिद तथा ढुवानीका ब्यवस्था गरेको थियो । 

त्यसैगरी अस्पताल बिकास समितिले पनि फार्मेसीका लागि आवश्यक औषधि खरिद गरेर जिल्लामा हवाई मार्गबाट ढुवानी गरेर ल्याएको छ ।