• १६ चैत २०८०, शुक्रबार

प्रत्येक महिना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

blog

ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर: गोरखापत्र

ताप्लेजुङ, चैत ३० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रत्येक महिना ज्येष्ठ तथा अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएको छ । गाउँपालिकाले घर–घरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएको हो । 

मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङका अनुसार चालू आर्थिक वर्षको कात्तिकदेखि प्रत्येक महिना ज्येष्ठ तथा अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । वडा १ का वडाध्यक्षसमेत रहनुभएका तामाङले ‘क’ र ‘ख’ वर्गका अपाङ्ग तथा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको निरन्तर स्वास्थ्य परीक्षण गर्दै आएको बताउनुभयो ।

महिनाको एक पटक घर–घरमा पुगेर ज्येष्ठ तथा अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण गर्ने गाउँपालिकाको योजना कार्यान्वयन भइरहेको उहाँले बताउनुभयो । योजना निरन्तर कार्यान्वयनको क्रममा चैत महिनाका लागि लक्षित वर्ग अर्थात् ज्येष्ठ तथा अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षणको कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता तामाङका अनुसार चैत महिनाका लागि गाउँपालिकाका ६ वटै वडाका छ सय १६ जना ज्येष्ठ तथा अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले लाभग्राहीको घर–घरमा पुगेर सेवा प्रवाह गरिरहनुभएको छ । ज्येष्ठ तथा अपाङ्गको स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधि वितरण र उनीहरूलाई आवश्यक स्वास्थ्य परामर्श दिँदै आएको बताइएको छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।